७० प्रतिशत हिंसाको कारक मदिराः गृहमन्त्री थापा



२६ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने लागुऔषध सेवन, मदिरा सेवन र महिला तथा बालबालिका हिंसाको रोकथामका लागि अभियानको खाँचो रहेको बताउनुभएको छ ।

गृह मन्त्रालयले शुक्रवार आयोजना गरेको ‘लागुऔषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा र ट्राफिक व्यवस्थापन’सम्बन्धी अन्तक्र्रियामा उहाँले विकास र समृद्धिको बाधक हिंसा निस्तेज बनाउन जरुरी रहेको बताउनुभयो । सबै प्रकारका अपराध निस्तेज नगरेसम्म समृद्ध नेपाल निर्माण हुनसक्दैन,उहाँले भन्नुभयो ।

गृहमन्त्री थापाले विकास समृद्धि, सुशासन र शान्तिको उच्चतम अवस्था समाजवादको लक्ष्य पूरा गर्न सरकार र जनता एकजुट हुनुपर्ने बताउनुभयो । “मुलुकमा अझैसम्म पनि अशान्ति र द्वन्द्व निम्त्याउने तत्व सक्रिय भइरहेका छन्, त्यसतर्फ हामी सजग हुनुपर्छ”, गृहमन्त्री थापाले भन्नुभयो ।

उहाँले ७० प्रतिशत हिंसाको कारक मदिरा नियन्त्रणमा जुट्नु जरुरी रहेको उल्लेख गर्नुभयो । हिंसा रोक्न स्थानीयस्तरबाटै जनता परिचालन गरेर आन्दोलन र अभियान सञ्चालन गर्नुपर्ने मन्त्री थापाको भनाइ थियो ।

गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले मदिरा नियन्त्रणका लागि वडामा कति पसल सञ्चालन गर्ने र कुनकुन समय बिक्रीवितरण गर्ने भन्नेबारे स्थानीय क्षेत्रले योजना बढाएर अगाडि बढ्नुपर्छ भन्नुभयो । गृह मन्त्रालयका सहसचिव नारायण शर्मा दुवाडीले लागुऔषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा निवारणका लागि मन्त्रालयले गरिरहेको कामका बारेमा जानकारी दिनुभएको थियो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समाजमा हुने हिंसा न्यूनीकरणका लागि स्थानीय तह र प्रहरी सँगसँगै हुनुपर्ने बताउनुभयो । “हिंसा नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले विभिन्न क्षेत्रमा सिसी क्यामरा जडान गरेको छ”,उहाँले भन्नुभयो ।

उहाँले महानगरपालिका काठमाडौँ क्षेत्रमा भएको जथाभावी पार्किङ हटाउन र ट्राफिक व्यवस्थापन गर्नका लागि ट्राफिक प्रहरीसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्