दशैंमा रामेछाप अाउने यात्रुसँग लुट्दै यातायात ब्यवसायीः यात्रुसँग दोब्बर भाडा असुली



२९ असोज, रामेछाप । राजधानी काठमाडौंबाट रामेछाप आउने यात्रुहरु दोब्बर भाडा तिर्न बाँध्य भएका छन् । दशैको समयमा सार्वजनिक यातायातको साधनले यात्रुसँग दोब्बर भाडा लिएको उजुरी परेपछि प्रहरीले दुई वटा सार्वजनिक यातायातलाई कारवाही गरेको छ । रामेछापमा विगतदेखि नै हायस माइक्रो वस र टाटासुमोले सरकारले तोके भन्दा बढी भाडा असुल्दै आएका छन् । सवारी साधनले तोकिएको भन्दा बढी भाडा असुल्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले ठाउँठाउँमा छडके जाँच गरेर यात्रुहरुको पिर मर्का बुझेर बढी भाडा लिने सवारी साधनलाई कारवाही गर्ने क्रम बढाएको छ ।


प्रहरीले जोखिम न्युनिकरण गर्नको लागि चालकलाई सचेत गराउने काम गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख कुशहरि भण्डारीले रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘दशैको समयमा कुनै पनि दुर्घटना नहोस भनेर हामीले रातदिन नभनी काम गरिरहेका छौ, ठाउँठाउँमा छडने जाँच गर्ने कामलाई निरन्तरता दिएका छौं, बढी भाडा लिनेलाइ कारवाही गरेका छाैं ।’
टाटासुमो र हायसको दादागिरी
रामेछापबाट राजधानी काठमाडौंसम्म सञ्चालन हुने हायस माइक्रो वस र टाटासुमोले सरकारले तोकेको भाडा भन्दा बढी भाडा लिने गरेका छन् । विगतदेखि नै बढी लिदै आएको हायस र टाटासुमोले अहिले पनि बढी भाडा लिदै आएका छन् । यात्रुहरुले बढी भाडा लिएको गुनासो गरेपनि यी दुई यातायात व्यवसायीले भने आफ्नो दादागिरी कायमै राखेका छन् । रामेछापमा पछिल्लो समयमा ग्रामिण क्षेत्रसम्म पहुँच विस्तार गरेको टाटासुमोले सुविधानको नाममा लुटतन्त्र नै मच्चकाएको गुनासो यात्रुहरुको छ । यात्रुहरुले गुनासो गरेपनि सुनुवाई नभएपछि अहिले विरोध गर्न छोडेर भनेजतिको भाडा तिरेर यात्रा गर्न रामेछापवासी बाँध्य भएका छन् ।
भाडा ४१९ असुल्छन पाँच सय
सरकारले पछिल्लो पटक पेट्रोलिम पदार्थको मुल्य बृद्धिसँग समायोजन गरेको भाडादर अनुसार सदरमुकाम मन्थलीदेखि काठमाडौंसम्मको भाडा ४१९ रुपैयाँ हो । तर भाडा निर्धारण गर्नु अघिबाटै टाटासुमो र हायसले पाँच सय रुपैयाँ असुल्दै आएका थिए । अहिले पनि खुलेआम रुपमा पाँच सय भाडा असुल्दै आएका छन् । यतिसम्म कि भाडा घटाउन स्थानीय प्रशासनले गरेको आग्रहलाई वेवास्था गर्दै यातायात नै सञ्चालन नगर्ने चेतावनी समेत यी दुई यातायातले दिदै आएका छन् ।


यात्रुसँग दोरब्बर भाडा असुली
सोमवार काठमाडौंबाट मन्थली यात्रु लिएर आएको सुपर सिटी यातायातको बा १ ज ९२७९ नम्बरको माइक्रो बसले एक हजार रुपैयाँ भाडा लिएको गुनासो जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापमा पर्यो । वसले आफूहरुलाई ठगेको गुनासो गरेपछ लगत्तै प्रहरीले बढी भाडा फिर्ता समेत गरेको छ । रामेछापका ट्राफिक प्रमुख भण्डारीले यात्रुले गरेको गुनासोपछि तत्काल बढी भाडा लिने माइक्रो वसलाई १५ सय जरिवाना समेत गरेको बताउनुभयो । उहाँका अनुसार दोब्बर भाडा लिने अर्को माइक्रोलाई पनि कारवाही गरिएको छ । यस क्षेत्रमा सञ्चालन हुने ठूला बस बाहेक माइक्रो वस र टाटासुमोहरुले यात्रुहरुलाई दैनिक रुपमा ठग्ने गरेको गुनासो छ ।
जिल्ला भित्र्ने मुख्य नाकामा चेकजाँचमा कडाई
जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्ला भित्रने मुख्य नाकाहरुमा सवारी चेकजाँचमा कडाई गरेको छ । कुनै पनि सवारी दुर्घटना नहोस भनेर अभियान नै सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रहरीले सतर्कता अनाएको, विशेषगरी यात्रुलाई छतमा बस्न नदिने, क्षमता भन्दा बढी यात्रु बोक्न नदिने काममा ध्यान दिएका छौ ।’
दशै सुरु भएपछि तीन सय सवारी साधनमाथि कारवाही
जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका अनुसार दशै सुरु भएपछि मात्र  नियम विपरीत सञ्चालन हुने तीन सय सवारी साधनलाई कारवाही गरिएको छ । क्षमता भन्दा बढी यात्रु लिएर हिडने, तीब्र गतिमा सवारी सञ्चालन गर्ने सवारी साधनलाई कारवाही गरिएको भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो,‘रामेछापको मुख्य नाका सेलेघाटबाट दैनिक सात सय सवारी साधन आवतजावत गर्छन ।’ उहाँले सवारी साधनले बढी भाडा लिएमा ०४८ ५४०२५६ र १०० मा जानकारी गराउन पनि आग्रह गर्नुभएको छ । नियमविपरित सञ्चालन हुने सवारी साधनलाई पहिलो पटक नियमअनुसार ५०० दोश्रो, पटक १ हजार र तेश्रो पटक १५ सय जरिवाना काटिन्छ ।
विभागको फितलो अनुगमन
उपत्यका बाहिर जाने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि यी सवारीलाई कारबाही गरिएको छ । बढी भाडा लिने सवारीलाई एक हजारदेखि रु पाँच हजारसम्म जरिवाना गरिएको छ । विशेषगरी साना माइक्रो, हायस र टाटा सुमोले तोकेभन्दा बढी भाडा लिएको विभागले जनाएको छ ।

बढी भाडा लिने सवारीको जानकारी विभागको हटलाइन नं ९८५१२७३२२२ र नेपाल प्रहरीको निःशुल्क नं १०१ एवं १०३ मा फोन गरेर उजुरी गर्न सकिने यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायले रामेछाप न्युजलाइ बताउनुभयो । दशैँका जुनसुकै दिन सवारी चलाउनेले पनि विभागले तोकेभन्दा बढी भाडा लिन नपाउने उहाँले बताउनुभयो । बढी भाडा लिने सवारीलाई कारबाहीको दायरामा ल्याउन देशभरका प्रहरी कार्यालयलाई अनुरोध गरिएको जनाइएको छ ।

उपत्यका बाहिर जाने सबै नाकामा विभागले अनुगमन गर्न नसक्दा पनि यात्रु ठग्ने क्रम बढेको यात्रुको गुनासो छ । दशैँका अवसरमा २५ लाखभन्दा बढी यात्रु उपत्यका बाहिर जाने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । असोज २४ गते घटस्थापनादेखि शनिबारसम्म ६० हजार १६८ सवारीमा पाँच लाख ७१ हजार ९८७ यात्रु दशैँ मान्न उपत्यका बाहिर गएको महाशाखाका सहप्रवक्ता प्रहरी निरीक्षक दामोदर सिलवालले बताउनुभयो ।
यस अवधिमा ५० हजार ७२९ सवारीमा तीन लाख १९ हजार ६०९ यात्रु उपत्यका भित्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्