खाँडादेवी गाउँपालिकाको केन्द्रबाट दुई दिन नागरिकता वितरण हुँदै



६ कात्तिक, रामेछाप ।
स्थानीय स्तरबाट नै जनतालाई सेवा सुबिधाहरु उपलब्ध गराउने उदेश्यले खाँडादेवी गाउँपालिकाकाे केन्द्र माकादुमबाट दुई दिन नागरिता वितरण हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजना र खाँडादेवी गाउँपालिकाको समन्वयमा कात्तिक ७ र ८ गते नागरिकता वितरण हुने भएको हो । रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले दुई दिने नागरिकता वितरण घुम्ती शिविर सञ्चालन गर्न लागिएको रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार नागरिकता वितरणको साथै उमेर मतदाता परिचयन पत्र वितरणमा आफ्नो नाम छुटेकाहरुको पनि नाम संकलन हुनेछ ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले सदरमुकाम मन्थली जान टाढा भएकाले गाउँपालिकाको केन्द्रमा नै नागरिकता वितरण गर्न लागिएको बताउनुभयो । उहाँले १६ बर्ष उमेर पुगेकाहरुलाई पालिका नै उपलब्ध हुने लागेको सेवाको फाइदा लिन पनि आग्रह गर्नुभयो ।
खाँडादेवी गाउँपालिकाका प्रवक्ता पुष्पकर कार्कीले कार्तिक ७ र ८ गते पालिकाको केन्द्र माकादुममा नागरिकता टोली मार्फत नागरिकता वितरण हुने भएकाले पालिकाको ९ वटै वडाका १६ बर्ष पुगेका नागरिकहरुले सेवा लिन सक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्