स्थानीय तहमा पार्टी कमिटी नबन्दा काम गर्न गाह्रो भोः अध्यक्ष तामाङ



६ कार्तिक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले स्थानीय तहमा पार्टी एकताको सांगठानिक प्रक्रिया टुंगा नलाग्दा काम गर्न गाह्रो भएको बताउनुभएको छ । उहाँले गाउँपालिकामा पार्टीको कमिटी नबन्दा पार्टीले सारेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न समेत असहज भएको बताउनुभएको हो ।

नेकपा खाँडादेवी गाउँपालिकाले दशै तिहारको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा अध्यक्ष तामाङले स्थानीय तहसम्मको पार्टी एकताको प्रक्रिया छिटो भन्दा छिटो टुंगो लगाउनु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘स्थानीय तहमा जनप्रतिनिधिहरु आफूखुसी चलेको आरोप हामीले खेप्नु परेको छ, पार्टीले नीति तथा कार्यक्रम स्पष्ट पठाओस, हामी कार्यान्वयन गर्न प्रतिबद्ध छौं ।’ केन्द्रमा पार्टी एकता भएको छ, स्थानीय तहमा पार्टीको सांगठानिक एकता नहुँदा सबै भूमिका विहीनको अवस्थामा रहेका छन, पार्टीले तत्काल सांगठानिक एकतालाई पूर्णता दिनुपर्छ, अध्यक्ष तामाङले भन्नुभयो ।

पार्टी एकतापछि पूर्व दुवै पार्टी एमाले र माओवादीको कमिटी भंग भएको बताउदै उहाँले नयाँ कमिटी निर्माण नहुँदा अहिले अन्यौलता र अपठ्यारो अवस्था सृजना भएको उहाँले बताउनुभयो ।
स्थानीय सरकारलाई प्रभावकारी बनाउन, पार्टीले अगाडि सारेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि पार्टीको एकता प्रक्रियालाई टुंगो लगाउनु पर्ने बताउदै अध्यक्ष तामाङले भन्नुभयो,‘पार्टीको नीति अनुसार स्थानीय तहको सरकार सञ्चालन हुनुपर्ने हो, कमिटीहरु नबन्दा अन्यौलताजस्तो देखिएको छ, यो अवस्था चाडै अन्त्य होस ।’

प्रतिक्रिया दिनुहोस्