उच्च मनोबलको साथ काम गर्न नेता चौलागाईको आग्रह



६ कार्तिक, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कमल चौलागाईले पार्टीको सांगठानिक एकता प्रक्रिया चाडै टुंगो लाग्ने बताउनुभएको छ । उहाँले सचिवालयमा पार्टीको सांगठनानिक एकता प्रक्रियालाई पूर्णता दिने विषयमा गृहकार्य भइरहेको बताउनुभएको हो । केन्द्रीय सदस्य चौलागाईले पार्टीको सांगठानिक एकता प्रक्रिया कार्तिक महिनाभित्र पूरा हुने दावी गर्नुभयो ।

नेकपा सुनापती गाउँपालिकाद्धारा दशै तिहारको अवसरमा आयोजित शुभकामना आदान प्रदान एवं चियापन कार्यक्रमलाई मंगलवार गाउँपालिकाको केन्द्र हिलेदेवीमा सम्बोधन गर्दै चौलागाईले रामेछापको ढुंगा माटोले समेत आफूलाई चिनेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘मलाई खुसी लागेको छ, बीचमा म केही समय हराए, तर पार्टीले फेरि जिम्मेवारी दिएको छ, झन सुनापती गाउँपालिकाभित्र त ढुंगा माटो सबैले चिनेको छ ।’ उहाँले छिटै पार्टीको सांगठानिक एकता प्रक्रिया टुंगो लाग्ने बताउदै उच्च मनोबलको साथ काम गर्न पनि नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।


कार्यक्रममा पूर्व सभासद एवं नेकपाका नेता डिल्लीमान तामाङले एकता प्रक्रियालाई छिटो भन्दा छिटो टुंगो लगाएर पार्टीले राखेको लक्ष्य प्राप्तिको बाटोमा लाग्नुपर्नेमा जोड दिनुभयो । पार्टीले अब नयाँ सोच नयाँ संस्कार सहित समाजवाद प्राप्त गर्नको लागि सिंगो पार्टीलाई परिचालन गर्नुपर्नेमा तामाङले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्