बिपी राजमार्ग पुननिर्माण गर्न जापान सरकारद्धारा एक अर्ब ८५ करोड सहयोग



८ कार्तिक, काठमाडौं । तीन बर्ष अघि गएको भुकम्पको कारण भत्एिको बिपी राजमार्गको सिन्धुलीको सडक मर्मत गर्नको लागि जापान सरकारले एक अर्ब ८५ करोड अनुदान सहयोग गरेको छ । जापान सरकारले भूकम्पबाट भत्केकोे सिन्धुली सडक मर्मतसम्भार गर्न एक अर्ब ८५ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको हो ।
अनुदान सहयोगसम्बन्धी सम्झौता तथा समझदारीपत्रमा विहिवार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गर्नुभयो ।


पूर्वी तराइलाई राजधानी काठमाडौँसँग जोड्ने एकसय ६० किलोमिटर लामो सिन्धुली सडक जापानी अनुदानमा निर्माण भएको हो । बीस वर्षमा पूरा भएको उक्त सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको एक महिनापछिको भूकम्पले प्रभावित भएको थियो ।

आगामी एक वर्षमा मर्मतसम्भारको काम पूरा गर्ने लक्ष्यका साथ आगामी माघदेखि कार्यसञ्चालन हुने अर्थ मन्त्रालयले बताएको छ । कार्यक्रममा सक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत साइगोले नेपालको कृषि उत्पादनलाई बजारसम्म पु¥याउने, बालबालिकालाई विद्यालय तथा पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण सिन्धुली सडक पुनर्निर्माणमा जापानले पुनः सघाएको बताउनुभयो ।

सचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासमा जापानबाट निरन्तर सहायता प्राप्त भएकामा हार्दिक आभार व्यक्त गर्नुभयो । भुकम्पको कारण बिपी राजमार्ग एक दर्जन भन्दा बढी स्थानमा जोखिम रहेको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्