खाँडादेवी गाउँपालिकाका नागरिकहरुले स्थानीय तहबाटै पाए नागरिकता



८ कार्तिक, रामेछाप । स्थानीय तहको सरकार सञ्चालनमा आएपछि सेवा सुविधा पनि स्थानीय तहबाटै प्राप्त गर्ने क्रम बढेको छ । नागरिकहरुलाई घर दैलोमा नै सेवा पुर्याउने उदेश्यको साथ जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजना र खाँडादेवी गाउँपालिकाको समन्वयमा गाउँपालिकाको केन्द्रबाटै नागरिकहरुले नागरिकता प्राप्त गरेका हुन् ।


खाँडादेवी गाउँपालिकाको केन्द्र माकादुममा सञ्चालित २ दिने घुम्ती शिविरमा २ सय ३२ लाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । बुधबार र विहिबार सञ्चालित घुम्ती शिविरमा नागरिकहरुको उत्साहजनक सहभागीता रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले रामेछाप न्युजलाई जानकारी दिनुभयो । उहाँका अनुसार नागरिकताको प्रमाणपत्र वितरणका साथै मतदाता परिचयपत्रका लागि फोटो खिच्ने कार्य पनि भएको थियो ।
घुम्ती शिविरमा खाँडादेवी गाउँपालिकाका ९ वटै वडाका १६ बर्ष उमेर पुगेर नागरिकताको प्रमाणपत्र नलिएका नागकिरहरुले नागरिकता लिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले बताउनुभयो । गाउँगाउँमा नागरिकता लिन बाँकी उमेर पुगेका नागरिकहरुको संख्यालाई केन्द्रमा राखेर घुम्ती शिविर सञ्चालन गरिएको गाउँपालिकाका प्रवक्ता पुष्कर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्