सुनापती गाउँपालिकाभित्र विकास निर्माणको काम पारदर्शी हुन्छः अध्यक्ष लामा



९ कातिक, रामेछाप । सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले सुनापती गाउँपालिकाभित्र हुने विकास निर्माणको काम पारदर्शी हुने बताउनुभएको छ । समृद्ध गाउँपालिका निर्माणको लागि आफूहरु जुटेको बताउदै उहाँले गाउँपालिकाले प्राथमिकता निर्धारण गरेर विकास निर्माणको काम अगाडि बढाएको बताउनुभएको हो ।


सुनापती गाउँपालिका–१ गुन्सीस्थित धारापानीमा सामुदायिक स्वास्थ्य इकाईको उदघाटन गर्दै अध्यक्ष लामाले समृद्ध गाउँपालिका निर्माणको लागि आफूले सबै समय खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘स्वास्थ्य, शिक्षा, खानेपानी, सडकलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिहेका छौ ।’
उहाँले नागरिकहरुको स्वास्थ्यप्रति गाउँपालिका जिम्मेवार रहेको बताउदै प्राथमिक स्वास्थ्य सेवा पुग्न नसकेको स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह गर्ने बताउनुभयो । गाउँपालिकाबाट हुने काम सञ्चालन भइरहेको उल्लेख गर्दै गाउँपालिकाको स्रोत र साधनले नहुने विकास निर्माणको आयोजनाहरुमा प्रदेश र केन्द्र सरकारसँग बजेट ल्याएर भए पनि काम गरिने योजना रहेको उहाँले बताउनुभयो ।
कर्यक्रममा नेकपाका नेता रेमश चौलागाईले गाउँपालिकाले जनताको चाहना र भावना अनुसारको विकास निर्माणको काम अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।


सुनापती गाउँपालिका–१ गुन्सीका वडा अध्यक्ष राजु चौलागाई (चण्डेश्वर)ले जनतालाई केन्द्रमा राखेर काम गरिहेको बताउनुभयो । उहाँले वडाको विकास निर्माणको कामलाई पारदर्शी ढंगले अगाडि बढाउदै आएको बताउदै गाउँपालिकाको बैठकमा वडाको समस्यालाई उठान गर्दै योजना पार्ने काममा आफू लागेको बताउनुभयो । उहाँले भन्नुभयो,‘जनतालाई केन्द्र भागमा राखेर काम गरेको छु, जनताको पनि मलाई साथ र सहयोगको खाँचो छ ।’ वडाको विकास निर्माणको लागि स्वयंम नागरिकहरु पनि चनाखो भएर लाग्नु पर्ने आवश्यकता रहेकोमा उहाँले जोड दिनुभयो ।
सुनापती गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खड्ग घिसिङले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासबाट मात्र समृद्ध गाउँपालिकाको सपना सार्थक हुने बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले आगामी दिनमा बजेट निर्माण गर्दा थप ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।


उक्त कार्यक्रममा दोरम्बा गाउँपालिकाका प्रवक्ता अम्बिकाप्रसाद गजुरेलले जनप्रनिनिधिहरुले अपेक्षा गरे अनुसारको काम गर्न नसकेको बताउनुभयो । ‘जनताको चाहना अनुसारको काम गर्न जनप्रतिनिधिहरु रात दिन नभनि लागेका छौ, बीचमा केही असहजता पन्छाउदै बाधा अवरोध हटाउदै अगाडि बढेका छौं ।’ नागरिकहरुले अपेक्षा गरेको विकास निर्माणको काम एकै पटक सम्पन्न नहुने उल्लेख गर्दै प्राथमिकताको आधारमा क्रमश विकास निर्माणको कामले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा सुनापती गाउँपालिका–२ का वडा अध्यक्ष कमल केसी, सुनापती गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख प्रवल याेञ्जन,स्वास्थ्य शाखा उप्रप्रमुख अर्जन श्रेष्ठ,दोरम्बा गाउँपालिका–७लखनपुरका वडा अध्यक्ष रेम थापा, दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्क श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।
सामुदायिक स्वास्थ्य इकाइमा एक जना अनमि र एक जना अहेव रहेका छन् । अब धारापानीका स्थानीय वासिन्दाले प्राथमिक स्वास्थ्य सेवा लिन घण्टौ धाउनु पर्ने बाँध्यता हटेको छ ।

कार्यक्रमका संयोजक नवराज तामाङले अब सिमपानी, धारापानी र बोझेनीका जनताहरुले घण्टौ धाउनु पर्ने बाँध्यता हटेको बताउदै स्वास्थ्य इकाइमा एक जना कार्यालय सहयोगीको आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्