रामेछापको खेलकुद क्षेत्रको विकास गर्न भूमिका खेल्छुः सांसद श्रेष्ठ



९ कार्तिक, रामेछाप । रामेछापका प्रतिनिधिसभाका सांसद श्यामकुमार श्रेष्ठले खेलकुद क्षेत्रमा युवाहरु राख्नु पर्ने बताउनुभएको छ । खेलको मार्फत राष्ट्रलाई योगदान गर्न सकिने बताउदै उहाँले अन्तर्राष्ट्रिय रुपमा पनि खेलकुदको माध्यमबाट चिलाउन सकिने बताउनुभयो । उहाँले खेलकुल मार्फत पनि समाजलाई ठूलो योगदान दिन सकिने बताउदै खेलकुद क्षेत्रको विकासको लागि आफूले पनि भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

दोरम्बा गाउँपालिका–४ गौश्वरामा दशै तिहारको अवसरमा सैलुङ शिखर स्पोर्ट युवा क्लवद्धारा आयोजना गरिएको खुल्ला नकाउट फुटबल प्रतियोगीताको शुक्रवार उदघाटन गर्दै सांसद श्रेष्ठले देशको शासन व्यवस्था परिवर्तन गर्नको लागि गौश्वराले ठूलो भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘जनयुद्धको समयमा गौश्वराले ठूलो भूमिका निर्वाह गरेको छ, गौश्वराको विकास निर्माणको लागि म भूमिका खेल्छु ।’ गौश्वरालाई कृषि र पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर लैजानु पर्नेमा उहाँले जोड दिनुभयो ।


कार्यक्रममा दोरम्बा गाउँपालिका–६ का वडा अध्यक्ष समेत रहनुभएका गाउँपालिकाका प्रवक्ता अम्बिका प्रसाद गजुरेलले गाउँपालिकाले सडक निर्माणलाई पहिलो प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘गाउँपालिकाभित्र सडक निर्माण भएका छन, भएका सडकलाई स्तरउन्नतीको कामलाई हामीले प्राथमिकता दिएका छौं ।’ उहाँले गौश्वरालाई विकसित गर्नको लागि गाउँपालिकाले आवश्यक ध्यान दिने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा दोरम्बा गाउँपालिका–७ का वडा अध्यक्ष रेम थापाले खेलकुदको माध्यमबाट देशको विकास गर्न सकिने बताउनुभयो । उहाँले क्रिकेट खेलबाट जसरी नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको नाम चम्काउने काम गरेका छन् त्यसैगरी रामेछापका खेलाडीहरुले पनि आगामी दिनमा देशको शिर उच्च बनाउने काममा लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा दोरम्बा गाउँपालिका–४ गौश्वराका वडा अध्यक्ष चन्द्रबहादुर थापामगरले विकास निर्माणबाट पछाडि परेको गौश्वरालाई समृद्धिको दिशामा अगाडि बढाउनका आफूले भूमिका खेलेको बताउनुभयो । उहाँले भन्नुभयो,‘समृद्ध गौश्वरा निर्माणको अभियानमा जुटेका छौ, सबैैका साथ र सहयोग हामीलाई चाहिएको छ ।’ वडा अध्यक्ष थापामगरले वडाभित्र खेलकुद क्षेत्रको विकास गर्नको लागि आफू मन बचन र कर्मबाट लाग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्