नेकपाको चियापान सम्पन्नः कार्यकर्तामा खुलदुली



१० कार्तिक, काठमाडौं । पार्टी एकीकरणपछि पहिलो पटक नेपाल कम्युनिष्ट पार्टीद्धारा आयोजना गरिएको चियापान कार्यक्रम सम्पन्न भएको छ ।

चियापान कार्यक्रममा प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी हुनसक्नु भएन । दिउसो तीन बजे पार्टी अध्यक्ष ओली सहभागी हुने कार्यक्रम तय गरिएको भएपनि प्रधानमन्त्रीको सचिवालयले अस्वस्थ्यको कारण सहभागी हुन नसक्ने बताएपछि प्रतिक्षामा बसेका कार्यकर्ताहरु निराश भएर कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।

पार्टीका महासचिव विष्णु पौडेललले प्रधानमन्त्री ओलीको छातीमा संक्रमण भएकाले पार्टीले आयोजना गरेको चियानान कार्यक्रममा सहभागी हुन नसक्नुभएको बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीलाई रुघा खोकी र छातीमा समस्या भएकाले कार्यक्रममा उपस्थित हुन नसक्नुभएको हो ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले विजयादशमी, दिपावली तथा छठ पर्वको अवसर पारेर शनिवार राजधानीको भुकुटीमण्डमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सहभागी अथितिहरुलाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुले स्वागत गर्नुभएको थियो । भृकुटीमण्डको बगैचामा आयोजना गरेको चियापानमास्थल साँघुरो भएको कारण निकै अस्तव्यस्त देखिएको थियो ।


चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांस्कृतिक पर्वले नेपालीलाई एकीकृत गर्दै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने प्रेरणा प्रदान गरेको बताउनुभएको छ । नेपाल जातीय, भाषिक, धार्मिक रुपमा विविधतायुक्त देश रहेको र त्यसले एकताको सुत्रमा बाँधेको बताउदै एकअर्काको संस्कृतिप्रति सम्मान, सहयोग, सद्भावना व्यक्त गर्ने हाम्रो मौलिक सांस्कृतिक विविधता रहेको बताउनुभयो । प्रचण्डले भन्नुभयो,‘नेपाल जनसख्या र भौगोलिक सीमाले ठूलो नभए पनि बहुजाती, बहुभाषी, एवं बहुसांस्कृतिक विविधताले युक्त मुलुक हो, सबै जातजातीबीच सद्भाव रहेको छ ।’


पार्टी महासचिव विष्णु पौडेलले चियापान कार्यक्रम शुभकामना आदान प्रदानमा केन्द्रीत भएकाले राजनीतिक रुपमा लिन नहुने बताउनुभयो । ‘एकता सदभावको सन्देश प्रवाह गर्न हामी नेपालीहरु चलिरहेको सदभाव र सहिष्णुता चाहन्छौ, एक आपसमा मिलेर अगाडि बढन चाहन्छौ भन्ने सन्देश दिन चियापान कार्यक्रम आयोजना गरिएको हो’,महासचिव पौडेलले भन्नुभयो,‘आपासमा सदभाव साटासाट गर्न कार्यक्रम आयोजना गरिएको हो, आगामी दिनमा पनि गर्दै जान्छौ ।’


चियापान कार्यक्रममा पुग्नुभएका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा एकता, मेलमिलाप र समृद्धिको जिम्मा सत्तापक्षको हातमा रहेको प्रतिक्रिया दिनुभयो । देश अब मेलमिलाप, एकता र समृद्धिमा जान लागेको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञाशामा सभापति देउवाले भन्नुभयो,‘‘मेलमिलाप र समृद्धिमा जानुपर्छ, तर यो सबै कुरा सत्तापक्षको हातमा छ ।’
चियापान कार्यक्रमस्थल भृकुटीमण्डमा केही बेर तनाब भएको थियो । चियापान वहिस्कार गर्न अपिल गर्दै नेकपाभित्रकै असन्तुष्ट समूह भनिएकाहरुले कार्यक्रमस्थलमा धमाधम पर्चा वितरण गर्न थालिएपछि तनाव भएको हो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु, विभिन्न दलका नेता–कार्यकर्ता, सांसद, कुटनीतिक, कलाकार लगायतको सहभागीता रहेको थियो । मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म नेता, कार्यकर्ता र सर्वसाधारणका लागि समय छुट्टयाएको थियो भने ३ देखि ५ बजेसम्म उच्च पदस्थ व्यक्तिका लागि समय छुट्टयाएको थियो । नेकपाले चियापान कार्यक्रममा २५ हजार भन्दा बढी मानिसहरुको सहभागीता रहेको दावी गरेको छ । चियापान कार्यक्रममा नेता कार्यकर्ताहरुले पार्टी एकता कहिले हुन्छ भन्ने खुल्दुली व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्