१९ मेगावाटको माथिल्लो र उपल्लो खिम्तीको उत्पादन चैत्रबाट,  स्थानीयलाई ९ करोडको शेयर



११ कार्तिक, रामेछाप । रामेछाप र दोलखाको सीमाना खिम्ती खोलामा निर्माणाधिन माथिल्लो खिम्ती र उपल्लो खिम्ती जलविद्युत आयोजनाले आगामी चैत्रबाट उत्पादन थाल्ने भएको छ । १२ मेगावाटको उपल्लो खिम्ती र माथिल्लो खिम्ती ७ मेगावाट गरी १९ मेगावाट जलविद्युत आयोजनाले एक साथ उत्पादन थाल्ने भएको हो ।
हिमालय उर्जा विकास कम्पनीका प्रबन्धक प्रकाश दुलालले दुवै जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘तोकिएकै समयसीभित्र आयोजना सम्पन्न गरेर उत्पादन सुरु गरौ ।’


कम्पनीले साधारण सेयर (आईपीओ ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको आब्हान पत्रमा आउदो चैतभित्र बिजुली उत्पादन गर्ने प्रतिवद्धता नेपाल विद्युत प्राधिकरणसंग गरेको जानकारी दिएको छ
आयोजना बनाउन ३ अर्ब १४ करोड ७३ लाख रुपैयाँ लाग्ने कम्पनीको प्रक्षेपण छ । आयोजनाको प्रतिमेगावाट लागत १६ करोड ५६ लाख रुपैयाँ रहेको छ । लागत सस्तो भएकाले वित्तीय रुपमा दुबै आयोजना आकर्षक रहेका छन् । आयोजनाबाट वार्षिक ११ करोड ५९ लाख रुपैयाँ बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनामा २५ प्रतिशत स्वपुँजी (इक्विटी) र ७५ प्रतिशत कर्जा लगानी छ ।

चैतबाट बिजुली उत्पादन हुने भएपछि चालु आर्थिक वर्षमा कम्पनीले ३ करोड ३० लाख रुपैयाँ खुद नाफा गर्ने प्रकाशित आब्हान पत्रमा उल्लेख गरिएको छ । आगामी वर्ष नाफा बढेर १६ करोड र आर्थिक वर्ष ०७७ ०७८ मा १८ करोड ७० लाख रुपैयाँ खुदनाफा गर्ने कम्पनीले जानकारी दिएको छ ।


कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि ९ करोड ९० लाखको स्थानीय शेयर निष्कास गरेको छ । कार्तिक ६ गतेबाट सुरु भएको स्थानीय शेयरमा स्थानीयले न्युनतम ५० देखि अधिकतम् ४ हजार ९०० कित्तासम्म आवेदन दिन सकिने छ । जलविद्युत आयोजनाबाट प्रभावित रामेछाप र दोलखा जिल्लाका स्थानीयबासिन्दालाई आईपीओ निष्कासन गरिएको हो ।

रामेछापका गोकुलगंगा गाउँपालिका १, २, ३, ४ र ५, जिरी गरपालिकाका १, २ र ३, तामाकोसी गाउँपालिकाको ५ र ६, र मन्थली नगरपालिकाको वडा नम्बर १३ का स्थानीयवासीन्दाहरुले कार्तिक २० गतेसम्म शेयर हाल्न सक्ने छन् । ढिलोमा मंसिर ५ गतेसम्म स्थानीय प्रभावित क्षेत्रका बासिन्दाले शेयर हाल्न पाउने छन् । कम्पनीले स्थानीय प्रभावित क्षेत्रको लागि दस प्रतिशत शेयर निष्कासन गरेको दुलालले बताउनुभयो ।

२०७२ साल फागुनबाट सुरु भएको आयोजनाले आगामी चैत्रबाट उत्पादन थाल्ने भएपछि स्थानीयमा खुसीयाली छाएको छ । जलविद्युत आयोजनामा नविल बैंकको नेतृत्वमा एभरेष्ट बैक, नेपाल बैंक, नेपाल इनभेष्टमेन्ट बैंकले लगानी गरेका छन् । दुई जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत गर्जाङ सवस्टेसनमा जोडिनेछ । उक्त बिजुली खिम्तीको १३२ केभी प्रशारण लाइनमा जोडने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्