प्रधानमन्त्री ओलीले अस्पतालबाटै भावुक पत्र लेख्दै भने–‘म अस्पतालबाट छिट्टै फर्कन्छु र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय हुनेछु’



काठमाडौं,१३ कातिक । शिक्षण अस्पतालको बेडमा उपचार गराई रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भावुक विज्ञप्ति सार्वजनिक गरेका छन् । प्रधानमन्त्री ओलीले आफू अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।प्रधानमन्त्री ओलीले आज एक सन्देश प्रकाशन गर्दै सो प्रतिवद्धता व्यक्र गर्नुभएको हो ।

“चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु ” ओली ले सन्देशमा भनेका छन्, “विगतमा झैं समग्र देशवासी दिदीबहिनी–दाजुभाईहरुको सहयोग र सद्भाव निरन्तर रहनेमा म विश्वस्त छु । ”

प्रधानमन्त्री ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह गरेका छन् ।
“सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहिन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारवाजीको मलाई जानकारी छ । यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु,’ प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ।
प्रधानमन्त्री ओलीले सन्देशमा मौसमी रुखाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि आफू त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइ रहेको उल्लेख गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले मुलुकका केही भागमा घटेका घटनाप्रति चासो व्यक्त गर्नै त्यसमा आफू संवेदनशिल भएको उल्लेख गरेका छन् । “ धर्म, संस्कृतिको नाममा होस वा दलीय बहसको नाममा, आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि दुष्कर्म मान्य हुनै सक्दैन” प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन् “ यस्ता प्रकृतिका कार्यमा संलग्न जोसुकैलाई पनि राज्यको प्रशासन र सुरक्षा निकायले कानून बमोजिम कार्वाही गर्छ ।”

दङ्गा, हुल हुज्जत र हिंसाबाट सामाजिक सदभाव विथोल्ने कार्यले सुशासनलाई विथोल्ने प्रधानमन्त्री ओलीको धारणा छ । शान्ति सुव्यवस्था भङ्ग गर्ने यस्ता अपराधिक कार्यबाट समृद्धिको महाअभियान विथोलिने र विकासको मार्ग भत्किने तर्फ पनि प्रधानमन्त्री ओलीले सबैलाई सचेत गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्