अब लोडसेडिङको चिन्ता छैन,विद्युत बेच्ने चिन्ता छः कुलमान घिसिङ



१३ कार्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल दक्षिण एसिया क्षेत्रको हव हुनसक्ने बताउनुभएको छ । उहाँले नेपाल दक्षिण एसिया चार्ज गर्ने ब्याट्रीको रुपमा रहेको बताउनुभएको हो ।
नेपालले अब लोडसेडिङको चिन्ता भन्दा पनि उत्पादन भएको विद्युत व्यवस्थापन गर्ने चिन्ता लिनुपर्ने अवस्था आएको बताउदै बेलुकाको अत्यधिक बिद्युत खपत हुने बेलामा भारतबाट १ सय देखि २ सय मेगावाट बिद्युत आयात भएपनि दिनको अरु समयमा नेपालबाट बिद्युत निर्यात भइरहेको बताउनुभयो ।


निजी क्षेत्रका समेत गरेर १ बर्षमा एक हजार र बाह्र सय मेगावाट बिद्युत आउने अवस्थामा रहेको र यसले नेपालको उर्जा क्षेत्रमा व्यापक उपलब्धी हासिल हुने बताउदै भन्नुभयो,‘ अहिले २५ सय मेगावाट बिद्युत उत्पादन हुने आयोजनाहरु निर्माण भइरहेको छ, ७५ वटा आयोजना सञ्चालनमा छन, २१ सय मेगावाट पिपिए भएका आयोजनाहरु छन् ।’
नेपालमा पहिलोपटक २ सय २० केभीको ढल्केबर लाइन पहिलोपटक चार्ज गरेको बताउँदै तामाकोशी आएपछि भारतसँग जोडिने र नेपालबाट निर्यात गर्न सकिने उहाँको भनाई छ । तामाकोशी लगायतका त्रिशुली थ्रिए, कुलेखानी लगायतका आयोजना पाँच छ महिनाभित्र आउँदै गरेको, चिलिमे, तामाकोशी पनि छिट्टै आउने र यी आयोजनाबाट झन्डै ८ सय मेगावाट बिद्युत थपिन लागेको उहाँले जानकारी दिनुभयो ।
प्राधिकरणले नेपाललाई सन् २०३० सम्म ११ हजार मेगावाट, सन् २०२५ सम्म ६ हजार मेगावाट बिद्युत आवश्यक पर्ने प्रक्षेपण समेत गरेको छ । सो माग पूरा गर्नका लागि दीर्घकालीन योजनाका साथ प्राधिकरणले काम गरिरहेको घिसिङले बताउनुभयो ।
नेपालकोे बिद्युत उत्पादन दर बढ्दै गएपनि बजार ब्यवस्थापनका लागि अहिलेदेखि नै कार्ययोजना बनाएर काम गरिरहेको बताउदै यसका लागि बंगालदेश र चीनसँग बिद्युत बिक्रीका लागि अन्र्तराष्ट्रिय प्रशारण लाइन निर्माणको प्रक्रिया अघि बढाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्