अप्पर तामाकोसीको सेयर सर्वसाधारणकाे लागि खुला, ४ दिन आवेदन दिन पाइने



१४ कात्तिक, काठमाडौं । अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले भोलि (बिहीबार) देखि सर्वसाधारणका लागि सेयर बिक्री खुला गर्न लागेको छ । कम्पनीले सर्वसाधारणका लागि १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँको १ करोड ५८ लाख ८५ हजार कित्ता निष्कासन गर्न लागेको हो । बिहीबारदेखि बिक्री खुला हुने सेयर खरिद गर्न सोमबारसम्म आवेदन दिन पाइनेछ ।

डिम्याट खाता खोलेका सर्वसाधारणले सिआस्बा (अनलाइन) प्रणालीबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । निष्कासन खुला बन्द भएको बढीमा एक साताभित्र सेयर बाँडफाँड हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई १७।२८ प्रतिशत अर्थात् १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँको १ करोड ८२ लाख ९९ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

कम्पनीले २०७२ जेठ २९ गते उक्त सेयर बाँडफाँड गरेको थियो । यस्तै, दोलखा जिल्लाबासीका लागि निष्कासन गरिएको सेयर आज (बुधबार) बाँडफाँड गरिएको छ । आयोजना अतिप्रभावित, कम प्रभावित र प्रभावित सूचीमा रहेका जिल्लाबासीलाई ‘क’, ‘ख’ र ‘ग’ समूहमा बाँडेर १ अर्ब ५ करोड ९० लाख रुपैयाँको १ करोड ५ लाख ९० हजार कित्ता सेयर बाँडबाँड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्