कृषि र पर्यटन क्षेत्रबाटै दोरम्बा गाउँपालिकालाई समृद्ध बनाउछौः अध्यक्ष मोक्तान



नारायण श्रेष्ठ
१५ कार्तिक, रामेछाप । दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले गाउँपालिकालाई समृद्धि बनाउन कृषि र पर्यटन क्षेत्रमा लगानी गर्ने बताउनुभएको छ । गाउँपालिकाभित्र रोजगारी सृजना गर्नको लागि कृषिमा आधुनिकरण गर्दै पर्यटन क्षेत्रको विकास गर्न भौतिक पूर्वाधार निर्माणको कार्यमा लाग्ने बताउनुभएको हो ।

गाल्वा–दोरम्बा–सैलुङ, सुैलुङ–गुरासे क्षेत्रमा पर्यटकीय क्षेत्रको रुपमा रहेको र गाउँपालिकाले विशेष योजना सहित प्रबद्र्धृन गर्ने कार्यमा लाग्ने बताउदै उहाँले भन्नुभयो,‘पर्यटन क्षेत्रको विकास गरेर सयौ युवाहरुलाई गाउँमा नै रोजगारी सृजना गर्ने गरी लाग्छौ ।’


अध्यक्ष मोक्तानले गाउँपालिकाको आर्थिक अवस्था उकास्नको लागि कृषि क्षेत्रको आधुनिकरण गर्नुको अर्को विकल्प नभएको बताउदै ठाउँ विशेष अनुसारको व्यवसयिक खेतीमा विशेष ध्यान दिने बताउनुभयो । सुन्तला, किबी, आलु खेती हुने वडाहरुमा कोल्डस्टोर (शितभण्डार) निर्माण गर्ने प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो ।

गौश्वरामा आयोजित फुटबल प्रतियोगीताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मोक्तानले गौश्वरा, डडुवा दोरम्बा लगायतको क्षेत्रमा राम्रो आलु उत्पादन हुने भएकाले यस बर्षबाटै गौश्वरामा आलुको कोल्डस्टोर निर्माणको प्रक्रिया अगाडि बढाउन पहल थालिने बताउनुभयो । विगतदेखि नै रामेछाप जिल्लाको दुर्गम क्षेत्रको रुपमा चिनिदै आएको गौश्वरालाई समृद्ध बनाउने कार्यमा गाउँपालिको विशेष ध्यान दिएको उल्लेख गर्दै उहाँले गौश्वरामा हिऊद बर्षा नै सहज रुपमा यातायात सञ्चालन हुने गरी सडक निर्माणको साथै सडकको स्तरउन्नती गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष मोक्तानले गाउँपालिकाले खेलकुद क्षेत्रको विकास गर्न बजेट विनियोजन गरेको उल्लेख गर्दै आगामी दिनमा बजेट बृद्धि गर्दै लगिने पनि बताउनुभयो । गाउँपालिकाले यस बर्ष गौश्वराभित्र सडक निर्माण र सडकको स्तरउन्नतीको लागि ९० लाख लगानी गर्ने पनि उहाँले बताउनुभयो । अध्यक्ष मोक्तानले भन्नुभयो,‘अब गौश्वराको टोलटोलमा गाडी गुडछ ।’


दोरम्बा गाउँपालिका–५का वडा अध्यक्ष गंगाबहादुर तामाङ ‘कमान’ले गौश्वरा गाउँपालिकाको सम्पत्ती भएको बताउदै यहाँको प्राकृतिक स्रोत र साधनको उचित पहिचान गरी विकास गर्नुपर्ने बताउनुभयो । उहाँले सडकको अवस्थामा सुधार गर्न आफूले पनि गाउँपालिकामा कुरा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।वडा अध्यक्ष तामाङले भन्नुभयो,‘गाउँपालिकालाई समृद्ध बनाउन पर्यटन र कृषि क्षेत्रमा लगानी गर्नुपर्छ ।’


कार्यक्रममा दोरम्बा गाउँपालिका–४ गौश्वराका वडा अध्यक्ष चन्द्रबहादुर थापामगर ‘टलक’ले वडाको विकास गर्न आफू प्रतिबद्ध भएर लागेको बताउनुभयो । उहाँले भन्नुभयो,‘वडामा हिउद बर्षा नै यातायात सञ्चालन गर्ने गरी सडकको निर्माण गर्ने कार्यमा जुटेका छौ, कृषि क्षेत्रको विकास गर्न आलु उत्पादन हुने गौश्वरामा कोल्डस्टोर निर्माण गर्न सहयोग गर्न गाउँपालिमा विशेष पहल गरेको छु ।’

वडा अध्यक्ष थापामगरले गौश्वराको विकास निर्माणको काममा गाउँपालिकाले ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा दोरम्बा गाउँपालिका–२ का वडा अध्यक्ष खड्गबहादुर श्रेष्ठ, वडा नम्बर ३ टोकरपुरका वडा अध्यक्ष लालबदन थापामगर लगायतको सभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्