खाँडादेवी गाउँपालिकाको भटौली खोलामा निर्माणाधिन पक्की पुल यस बर्षबाटै सञ्चालनमा



१७ कार्तिक, रामेछाप ।
खाँडादेवी गाउँपालिका अन्तर्गत भदौली खोला धुलेवेसींमा निर्माणाधिन पक्की पुल यसै बर्षबाट सञ्चालनमा आउने भएको छ । दुई बर्ष अघि निर्माण सुरु भएको पुलको निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले यसै बर्षबाट पुल सञ्चालनमा आउने गरी काम भइरहेको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘अपेक्षा गरेजस्तै निर्माणको काम धमाधम भइरहेको छ, यसै बर्षबाट पक्की पुलमा गाडी गुडछ ।’

तस्बीरः देवशकंर पौडेलको फेसबुकबाट

यस क्षेत्रमा पुल नहुँदा बर्षाको समयमा यातायातको साधन सञ्चालन गर्न कठिनाई हुँदै आएको बताउदै उहाँले भटौली खोलामा यस अघि नै अर्को पक्की पुल सञ्चालनमा आइसकेको बताउनुभयो । करिब चालिस मिटर लम्बाई रहेको पुलको लागत २ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

खाँडादेवी गाउँपालिकाको वडा नम्बर ८ गागलभदौरे, वडा नम्बर ९ पिङखुरी, मन्थली नगरपालिकाको वडा नम्बर १४ फुलासी, दोरम्बा गाउँपालिकाको वडा नम्बर १ डडुवा र दोलखा जिल्लाको मेलुङ गाउँपालिकाको बासिन्दाले यस पुल सञ्चालनमा सहज हुने भएको छ । सित्खा–गोगनपानी, धुलेबेसीं भोटनागी सडक अन्तर्गत भटौली खोलामा पक्की पुल निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्