रामेछापमा प्रशासनको सक्रियताः मन्थलीमा तास खेल्न तीन पक्राउ



१७ कार्तिक, रामेछाप । चाडपर्वको मध्य नगर गर्दै जिल्ला प्रहरी कार्यालयले जुवातास नियन्त्रणको अभियान अगाडि बढाएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापको निर्देशन र जिल्ला प्रहरी कार्यालय रामेछापको सक्रियतमा रामेछाप जिल्लाभर जुवातास नियन्त्रणको अभियान अगाडि बढाइएको हो ।

सदरमुकाम मन्थलीमा लुकिछिपी व्यवासयिक रुपमा नै तास खेलाउने सूचनाको आधारमा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको बताएको छ । प्रहरीले सदरमुकाम मन्थली बजारबाट तास खेल्ने क्रममा खाँडादेवी गाउँपालिका–८ का बर्ष ३३ का रमेश तामाङ मन्थली नगरपालिका–१ मन्थली बजारका रामबहादुर पुरी, दोरम्बा गाउँपालिका–१ डडुवाका प्रेम लामा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले सामाजिक विकृतिको रुपमा अनाधिकृत रुपमा हुने गतिविधि नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘जुवा तास जाँड रक्सी लगायतका सामाजिक कुसंस्कार सबै मिलेर फाल्नु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्