‘दोरम्बा गाउँपालिकाको गुन्सालमा सिमेन्ट उद्योग सञ्चालन गछौं’



रामेछापको दोरम्बा गाउँपालिका विस्तारै विकास निर्माणको गतिमा अगाडि बढेको छ । जनप्रतिनिधिहरुलाई अहिले योजना छनोट गर्ने चटारो छ । गाउँपालिकाले विकासको आधार तय गरेपनि कार्यान्वयको प्रक्रिया भने प्रभावकारी रुपमा अगाडि बढाउन सकेको छैन् । कृषि र पर्यटनलाई गाउँपालिकाले समृद्ध बनाउने आधार बनाए पनि अझै विकासको प्राथमिकता भने छनोट गर्न सकेको छैन् । विगतमाझै स–सना योजनाहरु समावेश गरेर बजेट बनाएको छ । यसै विषयमा दोरम्बा गाउँपालिका–५ गुन्सालका वडा अध्यक्ष गंगाबहादुर तामाङ ‘कमान’सँग रामेछाप न्युजको लागि स्नेहा सिलवालले गरेको कुराकानीः–

गंंगा बहादुर तामाङ ‘कमान’,वडा अध्यक्ष, दोरम्बा गाउँपालिका–५ गुरासे

सडक निर्माणमा वडाले लगानी गरेपनि परिणाम खासै आएन भन्छन नि ?
–सडक निर्माण गरिएको छ । अब सडकको स्तरउन्नती गर्ने प्रक्रियामा हामी लागेका छौं । सडकको पहुँच नपुगेको वस्तीमा सडक पुर्याउने अभियानमा छौं । वडाको केही भागमा अझै सडक पुग्न बाँकी छ । यस बर्ष बजेट छुटयाइएको छ ।
विद्युतीकरण नि ?
साविकको गुन्सी ८ र ९, टोकरपुरको ८ र ९ चार वटा वडा मिलेर अहिलेको दोरम्बा गाउँपालिकाको पाँच नम्बर वटा बनेको हो । साविक गुन्सीको ८ नम्बर वडामा २०६६ सालबाट नै बिजुली बलेको हो, अलिपछि गुन्सालमा पनि बल्यो । विद्युतीकरणको काम केही बाँकी छ । अबको पाँच छ महिनाभित्र विद्युत बल्छ ।
खानेपानीको समस्या कस्तो छ ?
–गुरासेमा खानेपानीको समस्या धेरै छ । करिब किलोमिटर दुरी रहेको साल्मीबाट पानी ल्याउने प्रयास गर्दै छौँ । २०६६ सालदेखि काम अगाडि बढेपनि अहिलेसम्म पूरा भएको छैन् । हामी पूरा गर्ने अभियानमा लागेका छौं । यस बर्ष गाउँपालिकाले पनि बजेट छुटयाएको छ । अब गुरासे आसपासका बासिन्दाहरुले सहज रुपमा खानेपानी उपभोग गर्न पाउछन् ।
वडा नम्बर ५ मा रहेको गुरासे धार्मिक पर्यटकीय गन्तव्य पनि हो यसको विकासको लागि के योजना बनाइरहनुभएको छ ?
–धार्मिक र ऐतिहासिक गुरासे मन्दिर निकै पुरानो मानिन्छ । धार्मिक आस्था र विश्वास लिएर आन्तरिक एवं बाह्य भक्तजनहरु ऋाउने गरेका छन् । शक्तिको प्रतिकको रुपमा पनि गुरासेलाई लिने गरिन्छ । खुडकिला निर्माण गर्न पाँच लाख बजेट छुटयाएका छौं । यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर अगाडि बढाउने योजना हामीले बनाएका छौं । यस क्षेत्रको गुरु योजना बनाएर नै काम गछौं ।
गाउँघरमा नै रोजगारी सृजना गर्न के गर्नुभयो त ?
वडाभित्र रोजगारी सृजना गर्न हामीले गुराँसे युवा समाज भन्ने एउटा संस्था दर्ता गरेका छौँ । सरकारको नियम कानुन अनुसार दर्ता भएको संस्था हो । त्यस संस्थाबाट बाख्रा पालनको काम अगाडि बढाएका छौं । बाख्रा पालनको लागि छ वटा घर निर्माण गरेर व्यावसायिक रुपमा बाख्रा पालन अगाडि बढाएका छौं ।
धेरै योजना बनाएर भौतारिनु भन्दा पनि यसलाई कसरी एउटा नमुनाको रुपमा विकास गरेर विदेश जाने युवाहरुलाई गाउँघरमा नै रोजगारी सृजना गर्न सकिन्छ भन्ने गृहकार्यमा हामी लागेका छौं । रोजगारीका केही आधारहरु तयार गरेका छौं । मुख्य रुपमा बाख्रा पालन मार्फत विदेश जाने युवाहरुलाई हामी रोक्छौ ।

वडाभित्र निर्माण सुरु भएको एकीकृत वस्तीको काम कुन चरणमा पुग्यो ?
अहिले धमाधम काम भइरहेको छ । अहिलेसम्म ३० वटा घरहरु डिपिसी भइसकेको छ । साथै बाँकी काम तीब्र गतिमा अगाडि बढेको छ । एकीकृत वस्तीको लागि हामीले १० लाख छुट्याएका छौँ । एकीकृत नमूना वस्ती गाउँपालिकाकै पहिलो हो । यो वस्तीलाई पर्यटकीय स्थानको रुपमा विकास गरेर लैजाने योजना छ ।

गाउँपालिकालाई समृद्ध बनाउने तपाईले आफ्नो वडामा के–के आधार तयार गर्नुभयो ?
हामीले समृद्ध गाउँपालिका निर्माण गर्नको लागि लक्ष्य लिएका छौं । हाम्रो वडामा सिमेन्ट उद्योग सञ्चालन गर्नको लागि कच्चा पदार्थ रहेको छ । अहिलेसम्मको अध्ययन अनुसार सिमेन्ट उद्योग सञ्चालन गर्न उपयुक्त ढुंगोहरु छ । यसको लागि थप अध्ययन अनुसन्धान गर्ने कामलाई अगाडि बढाउने तयारी गरेका छौं । यस क्षेत्रमा सिमेन्ट उद्योग सञ्चालन गर्न सकेको अवस्थामा दोरम्बा गाउँपालिका समृद्ध बन्छ । कुनै शका नै छैन् । गुन्साको बुलबुले, दाउने, कामाधेनु महादेव एरिया ३ हेक्टर भन्दा बढी स्थानमा सिमेन्ट उद्योग सञ्चालन गर्ने ढुंगा रहेको छ ।

चौरी खोलामा बषैँ अगाडि सुरु भएको पक्की पुल निर्माण नहुदा जनताले निकै ठूलो सास्ता पाएका छन, तपाइले अहिलेसम्म के गर्नुभयो  ? 
–बारम्बार ठेकेदार कम्पनीलाई दबाब दिएपछि अहिले पुल निर्माणको कामले गति लिएको छ । मलाई विश्वास छ यस बर्षबाट चौरीखोलाको पक्की पुल सञ्चालनमा आउछ ।

कृषि क्षेत्रको सुधार लागि के गर्नुभयो र के गर्दै हुनुहुन्छ ?
कृिषलाई आधुनिकिकरण गर्न काम आगाडि बढाएका छौं । कृषि क्षेत्रलाई व्यवसायीक बनाउनको लागि कृषि फर्म बनाएका छौं । कृषि क्षेत्रलाई उद्योगकै रुपमा अगाडि बढाउने योजना छ । कृषि क्षेत्रमा कसरी लगानी गर्ने गरेको लगानीलाई कसरी परिणाममुखी बनाउने भन्ने विषयमा हामी वडावासीहरुसँग परामर्श गरिरहेका छन् । एक ठाउँमा नमूनाको रुपमा देखाउन सके बाँकी त्यहीँबाट अरुले पनि पाठ सिक्न सक्छन भन्ने हाम्रो निष्कर्ष छ ।

गुरासे क्षेत्रमा चिया बगानको कुरा पनि आएको थियो नि ?
चिया बगानको काम पनि हुँदैछ । भौगोलिक र हावापानी चिया खेतीको लागि योग्य भएको कारण हामीले चियाखेतीको प्रस्ताव अगाडि सारेका हौं । यस बर्ष चिया बगानको सम्भाव्यता अध्ययन गर्नको लागि बजेट छुटयाउछौ ।

निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार काम अगाडि बढाउन सक्नु भयो कि भएन ?
–निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार नै काम गरेको छु । वडामा नियमित रुपमा बसेर जनताको सेवा गरेको छ । सामाजिक सुरक्षा भक्त घरघरमा नै आफै पुगेर वितरण गरेको छ । हामीले जनताको सेवा गर्छु भनेर प्रतिबद्धता गरेर आएपछि काम त गर्नु नै पर्यो नि । मेरो कारणले नागरिकहरुले दुःख पाउनुनभएको छैन् । वडाको विकासको लागि लागेको छ । केही दिर्घकालिन योजना अगाडि बढाउन समय पनि लाग्ने रहेको छ । जिम्मेवारी सम्हालेको यस अवधिमा वडालाई समृद्ध बनाउने आधार तयार गरेका छौं । वडाको विकासले गाउँपालिकालाई नै समृद्धि बनाउन सकिन्छ भन्ने मेरो विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्