रामेछापमा नेकपाको कार्यालय खुल्दै, चियापानमा ४ सयलाई निम्तो



१८ कार्तिक, रामेछाप ।

नेपाल कम्युनिष्ट पार्टीले जिल्ला कमिटीको एकीकरणको प्रक्रिया टुंगो लाग्न ढिलाई भएपछि रामेछापमा भने नेकपाले पार्टीको कार्यालय भने सञ्चालनमा ल्याउने भएको छ । पार्टी एकीकरण भएको पाँच महिना वितिसक्दा समेत जिल्ला कमिटीको टुंगो लाग्न नसक्दा कार्यकर्ताहरुमा निराशा छाउन थालेपछि पार्टी कार्यालय सञ्चालनमा ल्याउन लागेको हो ।

नेकपा रामेछापको जिल्ला कार्यालय उदघाटनको साथै कार्तिक १९ गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको नेकपाका जिल्ला नेता प्रकाश कुमार कार्कीले रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँका अनुसार पूर्व एमालेको जिल्ला पार्टी कार्यालय रहेको मन्थली बजारको कार्यालयलाई नै नेकपाको पार्टी कार्यालयको रुपमा सञ्चालन गरिने भएको छ । जिल्लामा पार्टीको गतिविधि नै नभएको भन्दै दिनप्रतिदिन कार्यकर्ताहरुले प्रश्न उठाउन थालेपछि नेकपाका जिल्ला तहका नेताहरुले कार्यालय सञ्चालन र चियापानको कार्यक्रमको आयोजना गरेका हुन् ।

नेकपा रामेछापले कार्यालयको रुपमा सञ्चालनमा ल्याउन लागेको मन्थली बजारको कार्यालय ।

चियापान कार्यक्रममा नेकपा प्रदेश नम्बर ३ का इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिवालाई निमन्त्रणा गरेको नेकपा रामेछापले बताएको छ । कार्यक्रममा पूर्व सभासद, प्रतिनिधिसभाका सांसद, प्रदेशसभा सांसद, नेकपा रामेछापका केन्द्रीय सदस्यहरु लगायतका नेताहरुको सहभागीता हुनेछ ।
कार्कीका अनुसार पार्टी कार्यालय उदघान गरेपनि जिल्ला समन्वय समितिको प्राङगनमा कार्तिक १९ गते अर्थात भोली बिहान ११ बजेदेखि २ बजेसम्म चियापान कार्यक्रम सञ्चालन हुनेछ । नेकपाको अनुसार चार सयलाई चियापान कार्यक्रममा नियमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्