रामेछापमा नेकपाको चियापानः दुई साताभित्र स्थानीय तहको एकता (फोटोफिचर)



१९ कार्तिक, रामेछाप । पार्टी एकीकरण भएपछि पहिलो पटक नेपाल कम्युनिष्ट पार्टी रामेछापले चियापान कार्यक्रमको आयोजना गरेको छ । आइतवार नेकपा रामेछापद्धारा आयोजित चियापान कार्यक्रम अघि चौपचारिक रुपमा पार्टी कार्यालय उदघाटन गरिएको छ । तर पार्टी एकताको प्रक्रिया अन्तर्गत प्रदेशको कमिटी, जिल्ला कमिटी र स्थानीय तहको कमिटी नबन्दा भने कार्यकर्तामा चासो र चिन्ता देखिएको छ ।

नेकपा प्रदेश नम्बर ३ का सचिव आनन्द पोखरेलले पार्टी एकतापछि नयाँ आशा र उत्साह थपिएको बताउदै दुई साताभित्र नै पार्टी एकताको प्रक्रिया टुंगो लाग्ने बताउनुभयो । उहाँले प्रदेश, जिल्ला र स्थानीय तहको कमिटीको टुंगो यही कार्तिकभित्र नै लाग्ने दावी गर्दै कार्यकर्तालाई उच्च मनोबलकोे साथ काम गर्न निर्देशन दिनुभयो । निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार काम गरिने बताउदै मंसिरभित्र सबै तहको एकता प्रक्रिया टुंगो लाग्ने बताउनुभयो ।

चियापान कार्यक्रममा पार्टी एकता प्रक्रिया टुंगो लाग्न नसक्दा कार्यकर्ताहरुले नेतालाई कहिले टुंगो लाग्छ भन्ने प्रश्न र चिन्ता व्यक्त गरेका थिए । पार्टी एकतापछि पहिलो पटक सदरमुकाम मन्थलीमा नेकपाले चियापान गरेर कार्यकर्ताको नेता तथा कार्यकर्ताहरुको उपस्थिति जनाएको छ । पार्टीले सांगठानिक एकता प्रक्रियालाई तत्काल टुंगो लगाएर जिम्मेवारी दिन पनि कार्यकर्ताहरुले माग गरेका छन् ।

पार्टी कार्यालय उदघाटन एवं चियापान कार्यक्रममा केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधिसभाका सांसद श्याम कुमार श्रेष्ठ, केन्द्रीय सदस्य एवं प्रदेश नम्बर ३ का आर्थिक मामिला एवं योजना मन्त्री कैलाश ढुंगेल, केन्द्रीय सदस्यहरु देवशकंर पौडेल, कमल चौलागाई, युवराज चौलागाई, माधव ढंगेल,पूर्व पूर्वसभासदहरु डिल्लीमान तामाङ, तारानारायण श्रेष्ठ, लक्ष्मी गुरुङ लगायतका नेताहरुको सहभागीता रहेको थियो । रामेछापबाट नेकपाका छ जना केन्द्रीय सदस्य रहेका छन् ।
चियापानका एक लाख खर्च
नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा एक लाख रुपैयाँ खर्च भएको छ । नेकपा रामेछापका नेता प्रकाश कुमार कार्कीका अनुसार चिपापानमा एक लाख रुपैयाँ खर्च भएको हो । चियापानमा निम्की, समोसा, बरफी लगायतका नास्ता दिइएको थियो । चियापान कार्यक्रममा करिब पाँच सय भन्दा बढी नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको कार्कीले रामेछाप न्युजलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्