अध्याँरो युगको अन्त्यः उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङलाई सलाम



नेपाल विद्युत प्राधिकरणको जिम्मेवारी पाएको अवस्थामा देशलाई उज्यालो बनाउने सपना कुलमान घिसिङले धेरै बर्ष अगाडि बुनेका थिए । तर उचित जिम्मेवारी र अवसर प्राप्त गर्न सकेका थिएनन् । राजनीतिक खिचातानीको शिकारबाट कुलमान घिसिङ पनि अछुतो रहन सकेनन् । पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्दा ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमान्ड साइड म्यानेजमेन्ट’ विषयमै शोध गरेका घिसिङसँग लोडसेडिङ अन्त्य गर्ने प्राविधिक सुझबुझ समेत थियो ।


०५१ मा घिसिङ इन्जिनियर पदबाट प्राधिकरणको सेवा प्रवेश गर्दा देशमा रोग, भोक र शोक अन्त्य गर्ने भन्दै माओवादीले सशस्त्र राजनीतिक जनयुद्ध सुरु गरेको थियो । तर, त्यही जनयुद्धको कारण देशमा दशकसम्म आर्थिक गतिविधि ठप्पप्रायः हुन गयो । जनसंख्या वृद्धि र बस्ती विस्तारमा आएको तीव्रतासँगै देशमा विद्युत् माग बढ्दै आयो । तर, विद्युत् उत्पादनको शताब्दीसम्म पनि देशको माग धान्न सक्ने गरी देशमा विद्युत् उत्पादन हुन सकेन ।
अवस्था यतिसम्म नाजुक बन्यो कि दिनको १८ घन्टासम्म नेपाली जनताहरुले लोडसेडिङको मार खेप्नु पर्यो ।

मोबाइल चार्च गर्न पनि विद्युत आउने समय कुरेर बस्नु पर्ने काहालीलाग्दो अवस्था सृजना भएको थियो । इन्भर्टर, ब्याट्री, पावर जेनेरेटर मेसिनजस्ता उपकरणका उत्पादक र वितरकको व्यापार राम्रैसँग फस्टायो । यतिसम्म कि मैनबत्तिको भाउ समेत आकाशिएको थियो । हरेक दिन सञ्चार माध्यममा लोडसेडिङ बढेको तालिक सार्वजनिक हुन थाल्यो । जब कुलमान घिसिङले प्राधिकरणको नेतृत्व सम्हाले तब जादुको छडी जस्तै गरी १८ घण्टासम्म पुगेको लोडसेडिङ दैनिक रुपमा घटन सुरु गर्यो ।
बलिरहेको बिजुली झ्याप्प जाँदा गाउँ–बस्ती र जगतै अन्धकारमा डुब्थ्यो । कतिपय गाउँबस्ती र सहरका सर्वसाधारण आक्रोशले चिच्याउँथे । अनि, मैनबत्ती र टुकीको पिलपिल उज्यालो चिर्दै बस्ती नै उज्यालो हुने गरी बिजुली झुलुक्क आउँदा पनि सर्वसाधारण खुसीले चिच्याउँथे । लोडसेडिङको कारण देश अन्धकार युगमा विस्तारै परिणत हुँदै गएको थियो । नागरिकहरुमा प्राधिकरणप्रति निकै ठूलो आक्रोश र निराशाको जन्म भएको थियो ।
विद्युत पर्याप्त नभएपछि सरकारले ऊर्जा संकट निवारणका लागि १० वर्षे कार्ययोजनादेखि ऊर्जा संकटकाल लगाउनेसम्मका नीतिहरू ल्यायो । त्यति बेला कुलमान घिसिङ विद्युत् विकासको ‘रोल मोडल’ मानिएको चिलिमे हाइड्रो पावर कम्पनीका प्रमुख थिए । तर, राम्ररी अघि बढिरहेको चिलिमे कम्पनीबाट उनलाई तत्कालीन सरकारले प्राधिकरणमै फिर्ता बोलायो । त्यसको झन्डै दुई वर्षसम्म घिसिङ जिम्मेवारीविहीन बनाइए । यसमा उनकै असन्तुष्टि पनि केही हदसम्म जिम्मेवार नभएको भने होइन । अन्ततः सही मानिसले सही पद र जिम्मेवारी पाए । ०७३ भदौमा घिसिङ प्राधिकरणको ११ तहको कार्यकारी निर्देशक पदमा नियुक्त हुनुभयो ।


०७३ को त्यो लक्ष्मी पूजाको दिन सम्झिदै कुलमान घिसिङ भन्नुहुन्छ–मनमा दृढ इच्छा शक्ति लक्ष्य र उदेश्य थियो, पहिलो पटक लक्ष्मी पुजामा राजधानीवासीलाई बिजुली दिने कामबाट मैले मेरो परीक्षा सुरु गरेको थिए, आज देशलाई नै उज्यालो बनाउन पाउदा खुसी छु ।’ लक्ष्मी पूजाको दिन सबैले घरमा दीपावली गर्ने भएकोले विद्युत् माग उच्च हुन्थ्यो । घिसिङले लोडसेडिङ अन्त्य गर्ने उपयुक्त दिनको रूपमा लक्ष्मी पूजालाई नै रोजे । यसको तयारी केही महिना अघिबाट नै बनाइसकेका थिए । नागरिकहरुमा आशा र उत्साह जगाउन लक्ष्मी पुजाकै दिन रोजिएको घिसिङ बताउछन् ।
०७३ को लक्ष्मी पुजाको दिन अर्थात् १४ कात्तिकमा घिसिङ आफ्नो टोलीसहित स्युचाटारस्थित भार प्रेषण केन्द्रमा बेलुका ५ बजे पुग्नुभएको थियो । काठमाडौंलाई लोडसेडिङ गर्न नदिँदा कुन प्रसारण तथा वितरण लाइनमा कति लोडमा चलाउने, कहाँ–कहाँबाट विद्युत् छोड्ने भनेर छलफल गर्नुभयो । आफ्नो योजना त छदै थियो । छलफलपछि आफ्नो योजना लागू गर्न टोलिलाई परिचालन गर्नुभयो ।

राती १२ बजेसम्म त्यहाँ बसेर प्राविधिक सूझका साथ व्यवस्थापन मिलाउँदा काठमाडौं उपत्यकामा लक्ष्मी पूजाको रातभर विद्युत् गएन । ‘नो लाइट’ नम्बरहरूमा कतैबाट पनि काठमाडौंका उपभोक्ताको गुनासो आएन । काठमाडौं लोडसेडिङ मुक्त भएको सन्देश दिएपछि घिसिङ आफ्नो योजना सफल भएको खुसीले गदगद हुनुभयो । कार्यकारी निर्देशकको पदमा पुगेको दुई महिनापछि नै कसैले कल्पनै नगरेको लोडसेडिङ मुक्त गर्ने अभियान घिसिङले सुरु मात्र गर्नुभएन लक्ष्मीपूजा विजुली बत्ति झिलिमिली पारेर उपत्यकालाई उज्यालो बनाउनुभयो ।

दुई बर्ष अघि लक्ष्मी पुजाकै दिनबाट सुरु भएको घिसिङको योजनाले आज देश नै उज्यालो नेपालको रुपमा रुपान्तरण भएको छ । अहिले देशमा पूर्ण रुपमा लोडसेडिङ मुक्त भएको छ । प्राधिकरणले २०७५ जेठदेखि औद्योगिक लोडसेडिङ पनि अन्त्य गरेको घोषणा गरिसकेको छ । लोडसेडिङ अन्त्य भएपछिका यी दुई वर्षमा विद्युत् खबत ८० प्रतिशत जति बढेको छ ।
लोडसेडिङ अन्त्य गरेरपछि कार्यकारी निर्देशक घिसिङप्रति आम नेपाली जनताको आशा र भरोसाको केन्द्र बन्नुभएको छ । पहिलो बर्ष तिहारमा उपत्यकामा लोडसेडिङ हुन नदिएर स्यावासी कमाएपछि घिसिङलाई अाफनाे जन्म गाउँ रामेछापको सुनापती गाउँपालिका–४ बेथानमा भव्य रुपमा स्थानीयले नागरिक अभिनन्दन गरेका थिए ।
देशबाट अँध्यारो युगको अन्त्य भएको छ । तिहारको दीपावली देशैभर विजुली बत्तीको झिलिमिलिमा मनाउन सकिने भएको छ । घिसिङले भने तेस्रो लक्ष्मी पूजा आजको दीपावली पनि स्युचाटारमै बसेर लोड व्यवस्थापन गरेर मनाउँदै हुनुहुन्छ । घिसिङले रामेछाप न्युजसँग भन्नुभयो,‘देशलाई उज्यालो बनाउन पाएकोमा मेरो योजना सफल भएको छ, यो खुसी म सबै नेपालीहरुमा बाँडन चाहन्छु, मन बचन र कर्मबाट लाग्ने हो भने हरेक क्षेत्रमा परिवर्तन गर्न सकिन्छ, दिपावलीको सम्पूर्ण नेपालीहरुमा शुभकामना ।’

प्रतिक्रिया दिनुहोस्