सबै घरलाई उज्यालो बनाउन सफल भयौः कुलमान घिसिङ



२४ कार्तिक, काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको दिन देशभर घरायसी ग्राहकले कूल एक हजार १०५ मेगावाट विद्युत् प्रयोग गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन कुनै पनि घर अँध्यारो बस्न नपरोस् भन्ने मान्यताका साथ सम्पूर्ण व्यवस्था मिलाएको र अधिकतम माग सोही परिमाणमा भएको नेपाल विद्युत् प्राधिकरणले बताएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यही कात्तिक २१ गते बुधबार लक्ष्मीपूजाको दिन साँझ ६ बजे गरिएको मापनमा घरायसी ग्राहकले गत वर्षभन्दा कम विद्युत् प्रयोग गरेको बताउनुभयो ।


गत वर्षको लक्ष्मीपूजाको दिनमा एक हजार १६५ मेगावाट विद्युत् घरायसी ग्राहकले प्रयोग गरेका थिए । यस वर्ष गत वर्षभन्दा ६० मेगावाट विद्युत् कम प्रयोग भएको हो । नियमित विद्युत् आपूर्ति, प्रणालीमा सुधार तथा अन्य व्यवस्थापकीय रुपमा गरिएको सुधारका कारण माग उल्लेख्य रुपमा खपत नबढेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले विद्युत् प्रणाली पुगेका कुनै पनि घर तथा बस्ती अँध्यारो नहोस् भन्ने ध्येयका साथ प्रत्येक वितरण केन्द्र र ग्रिड विभागमा २४सै घण्टा खटिने गरी कर्मचारी परिचालन गरेको थियो । प्रत्येक वितरण केन्द्र मातहत २५ जनाका दरले विशेष टोली बनाएर परिचालन गरेको हो ।

विसं २०७३ को लक्ष्मी पूजाको दिनदेखि काठमाडौँमा विद्युत् भार कटौतीको अन्त्य गरेको प्राधिकरणले हरेक वर्ष सफलता हासिल गर्दै गएको छ । कार्यकारी निर्देशक घिसिङका अनुसार प्राधिकरणको ४३९ मेगावाट, निजी क्षेत्रको ३४१ मेगावाट उत्पादन र भारतबाट ३२५ मेगावाट विद्युत् आयात गरिएको र त्यसको सकुशल व्यवस्थापन भएको छ ।

देशभर कुनै पनि स्थानमा विद्युत् अवरोध नभएको र नियमित रुपमा सहज तवरले विद्युत् उपलब्ध गराउन सकिएको घिसिङले बताउनुभयो । उहाँले भन्नुभयो,‘सबैको घरमा उज्यालो बनाउने योजना सफल भएको छ, अध्यारो हटाउन पाएकोको हामी खुसी छौ ।’

प्रतिक्रिया दिनुहोस्