१७ कराेडमा सिन्धुलीगढी दरवारको पुननिर्माण हुँदै तत्काल काम थाल्न दुई मन्त्रीको निर्देशन



सिन्धुली, २४ कात्तिक ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउन पर्यटन क्षेत्रको विकासमा आफू लागेको बताउनुभएको छ । शनिवार ऐतिहासिक स्थल सिन्धुलीगढीमा आयोजना गरिएको २५१ औँ विजय दिवसलाई सम्बोधन गर्नुहुँदै उहाँले सरकारले १०० गन्तव्य स्थलमध्ये सिन्धुलीगढीलाई राखेको बताउनुभएको हो ।


अहिले पहिलो पटक पर्यटकीय स्थलको रुपमा विकास गर्न ५० लाख बजेट विनियोजन गरेको भन्दै जीर्ण अवस्थामा रहेको दरबारको तत्काल पुनःनिर्माण कार्य शुरु गर्न कमलामाई नगरपालिकालाई निर्देशन दिनुभयो । नेपालीको वीरताको गाथा बोकेको सिन्धुलीगढी पछि परेको भन्दै मन्त्री अधिकारीले स्थानीय सरकारले बनाएको गुरुयोजनाअनुसार पुनःनिर्माणको काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेश नं ३ का अर्थमन्त्री कैलाश ढुङ्गेलले सिन्धुलीगढीको पुनःनिर्माणका लागि आवश्क पर्ने बजेट विनियोजन गर्ने बताउनुभयो । ऐतिहासिक स्थल र पर्यटकका लागि गन्तव्य स्थल भएकाले जीर्ण दरबारको पुनःनिर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने भएकाले पुनःनिर्माणको काम शुरु गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले सिन्धुलीगढीको पुनःनिर्माण गर्न १७ करोड लाग्ने भएकाले सो रकम प्राप्त भएमा नगरपालिकाले दुई वर्षमा पुनःनिर्माण गरी उक्त रकम फिर्ता दिनेसमेत बताउनुभयो । तत्कालीन कप्तान किनलोकको नेतृत्वमा आएको अङ्ग्रेज फौजलाई विसं १८२४ को मध्यमा यही स्थलमा गोर्खाली फौजले बहादुरीपूर्वक लडेर परास्त गरेका थिए ।

विसं १८२४ कात्तिक २४ गते नेपाली फौजको नेतृत्व श्रीहर्ष पन्त, वंशराज पाण्डे र वंशु गुरुङलगायतको टोलीले अङ्ग्रेज फौजलाई सिन्धुलीगढी क्षेत्रबाट हराएर पठाएको इतिहासमा उल्लेख भएको सिन्धुलीगढीका अन्वेषणकर्ताको भनाइ छ । अङ्ग्रेज सेनालाई पहिलोपटक १८२४ मा कत्तिक २४ गतेका दिन कहिल्यै नफर्किने गरी हार चखाएको स्मरणमा विगत नौ वर्षदेखि सिन्धुलीगढीमा विजय उत्सव मनाउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्