रामेछाप नेकपामा भागवण्डाः ८ स्थानीय तहमा कसलाई कहाँ ?



२६ कार्तिक, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी रामेछापमा स्थानीय तहको एकता प्रक्रिया अगाडि बढने भएको छ । प्रदेश कमिटीले जिल्ला कमिटी बाहेक स्थानीय तहको कमिटी गठन गर्न निर्देशन दिए अनुसार स्थानीय कमिटी गठनको काम अगाडि बढन लागेको हो ।
पार्टी एकीकरण भएको छ महिना वितिसक्दा समेत जिल्ला कमिटी, स्थानीय तहको कमिटी लगायतका जनवर्गीय संगठनहरुको एकता प्रक्रिया अगाडि बढन सकेको छैन् । स्थानीय तहमा पार्टी एकीकरणको काम अगाडि बढन नसक्दा स्थानीय सरकारको काम समेत प्रभावकारी नभएको गुनासो बढेपछि प्रदेश कमिटीले पूर्व एमाले र पूर्व माओवादी केन्द्रका पूर्व पदाधिकारी र रामेछापका केन्द्रीय सदस्यहरुलाई नै स्थानीय तहको एकता प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो ।


नेकपा रामेछापका एक नेताले रामेछाप न्युजसँग भने,‘प्रदेशले जिल्लाका पूर्व पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई स्थानीय तहको कमिटीको एकता प्रक्रिया टुंगो लगाउन निर्देशन दिइसकेको छ, तर नेताहरुले जाँगर देखाएका छैनन् ।’ रामेछापको ८ वटा स्थानीय तह मध्ये सात वटा स्थानीय तहमा नेकपाले नेतृत्व गरेको छ ।
अध्यक्षमा तामाङ सचिवमा श्रेष्ठको चर्चा
पार्टी एकीकरण अन्तर्गत नेकपा रामेछापको जिल्ला कमिटीको अध्यक्षमा पूर्व माओवादी केन्द्रका नेता समेत रहेका पूर्व सभासद डिल्लीमान तामाङको नाम सिफारिस भएको छ । त्यसैगरी पूर्व एमालेको तर्फबाट जिल्ला कमिटीको सचिव रहेका आनन्द श्रेष्ठलाई जिल्ला कमिटीको सचिव बनाउनको लागि प्रदेश कार्यालयलाई सिफारिस गरेको छ । विगतमा कार्यदलमा रहेका नेताहरु नै अहिले प्रदेशका पदाधिकारीको रुपमा चयन भएपछि सिफारिस गरेको नाम अनुसार नै जिल्लाको पदाधिकारीको टुंगो लाग्ने नेकपाका एक केन्द्रीय सदस्यले रामेछाप न्युजलाई बताए ।
स्थानीय तहमा भागवण्डा
स्थानीय तहको एकता प्रक्रिया अगाडि बढाउन पूर्व पदाधिकारीको बैठक बोलाए पनि नेता मैनकुमार मोक्तानको पारिवारिक समस्याको कारण बोलाइएको बैठक स्थगित भएको छ । नेकपाका एक नेताका अनुसार रामेछापको आठ वडा स्थानीय तह र ६४ वटा वडाको नेतृत्व कसले लिने भन्ने विषयमा पूर्व दुई पार्टीबीच लिखित सहमति भएको छ । ती नेताले रामेछाप न्युजसँग भने,‘आठ वटा स्थानीय तहमा पाँच वटामा पूर्व एमाले र तीन वटा स्थानीय तहमा पूर्व माओवादी केन्द्रले नेतृत्व गर्नेछ ।’

उनका अनुसार मन्थली नगरपालिका, लिखु तामाकोसी गाउँपालिका, खाँडादेवी गाउँपालिका, उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा पूर्व एमाले र रामेछाप नगरपालिका, दोरम्बा गाउँपालिका र सुनापती गाउँपालिकामा पूर्व माओवादी केन्द्रले नेतृत्व गर्ने समझदारी भएको छ । पूर्व एमालेले अध्यक्ष पाएको स्थानीय तहमा पूर्व माओवादीले सचिव पाउने छ ।
नेकपाको नेताहरुबीच ६४ वटामा जसले स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको उसलै नेतृत्व लिनेछ । कांग्रेसले जितेको वडामा भने आधा–आधा लिने समझदारी भएको बताइएको छ । पार्टीको अन्तरिम विधान अनुसार नगरपालिकामा ८१ सदस्यीय र गाउँपालिकामा ७५ सदस्यीय बन्ने छन् ।
१३५ को जिल्ला कमिटी
पार्टीका अन्तरिम विधान अनुसार एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला रामेछापमा १३५ सदस्यीय जिल्ला कमिटी बन्ने प्रावधान अनुसार पूर्व एमाले र पूर्व माओवादी केन्द्रको तर्फबाट यस अघि नै प्रदेश कार्याललाई नामावली बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्