रामेछापमा नेकपाका नेताहरुको जमघटः ८ वटै स्थानीय तहको नेता छानिदै



२८ कार्तिक, रामेछाप । पार्टी एकता भएको छ महिनापछि रामेछापमा नेपाल कम्युनिष्ट पार्टीका नेताहरु स्थानीय तहको कमिटीको एकीकरण प्रक्रियालाई पूर्णता दिन जुटेका छन् । प्रदेश कमिटीको निर्देशन अनुसार दुवै पार्टीका पूर्व पदाधिकारी र केन्द्रीय सदस्यहरु स्थानीय तहको कमिटीको एकता प्रक्रियामा जुटेका हुन् ।
प्रदेश कमिटीले पूर्व पदाधिकारीलाई नै अर्को व्यवस्था नभएसम्म स्थानीय तहको कमिटीको एकता प्रक्रिया अगाडि बढाउन निर्देशन दिए अनुसार पूर्व पदाधिकारी गृहकार्यमा जुटेका हुन् ।
नेकपा रामेछापले भोलीको लागि सदरमुकाम मन्थलीमा पूर्व एमाले र पूर्व माओवादी केन्द्रका पदाधिकारीहरुको बैठक बोलाएको छ । स्थानीय तहको एकताको विधि निर्माण गर्न पूर्व पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक बस्न लागेको नेकपाका नेता शान्ति पौडेलले बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘प्रदेशको निर्देशन अनुसार विधि निर्माण गरेर स्थानीय तहको एकता प्रक्रियालाई पूर्णता दिने विषयमा बैठकमा छलफल हुन्छ ।’

पूर्व पदाधिकारीहरुमा पूर्व एमालेको तर्फबाट पूर्व जिल्ला इन्चार्ज, जिल्ला अध्यक्ष शान्ति पौडेल, उपाध्यक्ष प्रेमबहादुर तामाङ, सचिव आनन्द श्रेष्ठ, उपसचिव झम्क कडेल रहेका छन् । त्यसैगरी पूर्व माओवादी केन्द्रका पूर्व जिल्ला इन्चार्ज धावा लामा, जिल्ला संयोजक मैन कुमार मोक्तान, डिल्लीमान तामाङ, तारानारायण श्रेष्ठ, प्रेमकुमार कार्की, रामकुमार तामाङ र निर्मल बोहोरा रहेका छन् ।

भोली सदरमुकाम मन्थलीमा बस्ने पूर्व पदाधिकारी एवं केन्द्रीय सदस्य सहितको बैठकमा रामेछापबाट केन्द्रीय सदस्य रहेका देवशकंर पौडेल, श्यामकुमार श्रेष्ठ, कैलाश ढुंगेल, युवराज चौलागाई, माधव ढुंगेल र कमल चौलागाई सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्