सटरको ताला फुटाएर चोर्ने दोरम्बा गाउँपालिका गौश्वराका तामाङ पक्राउ



२८ कार्तिक, काठमाडौंं । दिनभर ट्याक्सी चलाउने र राती भएपछि विभिन्न पसलहरुमा चोरी गर्दै हिड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सटरको ताला फुटाएर चोर्ने रामेछापको दोरम्बा गाउँपालिका–४ गौश्वराका २९ वर्षीय गंगाबहादुर तामाङलाई प्रहरीले पक्राउ परेको हो ।

गत कात्तिक १० गते राति २ बजे मखनमा मिनराज घिमिरेले सञ्चालन गरेको कस्मेटिक पसलको ताला फुटाई अन्दाजी १० लाख रुपैयाँ बराबरका सामानहरु चोरी गरेर ट्याक्सीमा राखेर लाँदै गरेको सिसिटिभी फुटेजमा देखिएपछि उनको खोजी भइरहेको थियो । तामाङलाई कात्तिक २६ गते मछिन्द्रबहालबाट पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले बा २ ज ३३४३ नम्बरको ट्याक्सी चालक तामाङले चोर्ने बेला राति ट्याक्सी लिएर जाने र चोरेका सामान ट्याक्सीमा हालेर हिँड्ने गरेको जनाएको छ ।

कात्तिक २६ गते असन बालकुमारीमा मेघराज दुलालले सञ्चालन गरेको कस्मेटिक पसलको ढोका फुटाई चोरी गरेका थिए। उनले २६ गते नै अन्य दुई वटा पसल चोरी गरेको पाइएको छ । ८ वटा भन्दा बढी सटर फुटाएर उनले ३० लाख रुपैयाँ भन्दा बढीको सामान चोरी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । तामाङ यसभन्दा अघि २०६८ सालमा चोरी मुद्धामा पक्राउ गरी सजाय पाएर छुटेका व्यक्ति समेत रहेको अनुसन्धानबाट खुल्न आएको छ।

प्रतिक्रिया दिनुहोस्