ढुंगा गिटी र बालुवाबाट खाँडादेवी गाउँपालिकाले कमायोे ३ करोड १० लाख



२९ कार्तिक, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले ढुंगा गिटी, बालुवाबाट ३ करोड १० लाख आन्तरिक राजश्व संकलन गरेको छ । गाउँपालिका अन्तर्गत रहेको सुनकोसी र तामाकोसी नदीको किनारामा रहेको बालुवा, र ढुगामा गरेको ठेक्काबाट सो रकम राजश्व संकलन गरेको हो । बालुवा र ढुंगाको लागि गाउँपालिकाले बोलपत्र आह्वान गरेको थियो ।

तीन खण्ड गरेर गाउँपालिकाले ठेक्का आह्वान गरेको थियो । गाउँपालिकाले ठेक्का लगाउदा बोलपत्र भन्दा बढीमा ठेकेदार कम्पनीले बढाबढमा लिने कम्पनीहरुसँग ठेक्का सम्झौता गरेको छ । लुभुदेखि सित्खासम्म १ करोड ८० लाख, सित्खाबाट बेनीसम्म ५० लाख र बेनीबाट तामाकोसी भटौलीसम्म ८० लाखमा ठेक्का सम्झौता गरेको खाँडादेवी गाउँपालिका–१ का वडा अध्यक्ष विष्णु श्रेष्ठले रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँले गाउँपालिकाले पहिलो पटक बालुवा ढुंगाबाट आन्तरिक राजश्व संकलन गरेको बताउनुभयो । गिटी बालुवाबाट भएको आम्दानी प्रभावित क्षेत्रका वडाको विकासलाई प्राथमिकता दिने गृहकार्य भइरहेको बताउदै वडा अध्यक्ष श्रेष्ठले पुँजीगत तर्फ विकास निर्माणमा नै उक्त रकम खर्च हुने बताउनुभयो । यस अघि जिल्ला समन्वय समितिले नै गिटी बालुवाको ठेक्का लगाउदै आएको थियो । गाउँपालिकाले पहिलो पटक आफ्नो गाउँपालिकाभित्रको प्राकृतिक स्रोतको रुपमा रहेको गिटी र बालुवाको ठेक्का लगाएको हो । गाउँपालिकाले आन्तरिक कर संकलन अन्तर्गत ढुंगा गिटी, बालुवा उत्खनन संकलन तथा निकासी सम्बन्धि सूचना प्रकाशित गरेको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७५ को परिच्छेद–३ को दफा ११ को उपदफा ध को ६ मा भएको व्यवस्था अनुसार गाउँपालिकाले २०७५ असोज २३ गते बसेको गाउँ कार्यपालिकाको बैठक तथा राजश्व परामर्श समितको बैठकका ेनिर्णयले आईईई प्रतिवेदनमा उल्लेख परिणामको आधारमा गिटी, बालुवा, ढुंगा, उत्खनन, संकलन तथा निकासी गरी आन्तरिक कर उठाउनको लागि ठेक्का आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्