मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाईः प्रशासकीय अधिकृत र वडा अध्यक्षबीच चर्कचर्की



रामचन्द्र वि.क.
कार्तिक २९, रामेछाप । रामेछापको मन्थली नगरपालिकाको चालु आर्थिक वर्षको पहिलो चौमासिकमा भएको सार्वजनिक सुनुवाईमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षबीच चर्कचर्की भएको छ । बुधबार नगरपालिकाको कार्यालय परिसरभित्र भएको सार्वजनिक सुनुवाईमा सेवाग्राहीले नगरपालिकाका सबै वडाका वडाअध्यक्ष खै ? भन्ने प्रश्न राखेपछि चर्काचर्की सुरु भएको हो ।
सेवाग्रहीको प्रश्नको जबाफमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले ४८ घण्टा अघि एसएमएस मार्फत १४ वटै वडाका वडाअध्यक्ष र कार्यपालिकाका सबै सदस्यहरुलाई जनाताले राखेका जिज्ञसाको जबाफ समेत दिने गरी अनिबार्य उपस्थितिको लागि जानकारी गराईएको भए पनि सबै जना सहभागी नभएको जावाफ दिनुभयो । उहाँले भन्नुभयो,‘११ बजे भनेर बोलाइएको कार्यक्रममा कोही १२ बजे, कोही साँढे १२ बजे, कोही १ बजे त्यो पनि तीनचार जना मात्रै आउनुभयो सबै आउनुभएन ।’


साढे तीन वर्ष पछि चुनाव आउँछ सकेसम्म राजनीतिक दलले टिकट नै नदिनुहोला जसले हेलचेक्र्याई गर्नु भएको छ , टिकट पाइहले पनि आफ्नो एक भोट मात्रै आउला, अहिले सूचना पाइन भन्नुभएको छ, सायद तीन बर्ष पछि मात्रै थाहा पाउनुहुने छ, उहाँले भन्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत खड्का वडा अध्यक्षप्रति कडा रुपमा प्रस्तुत भएपछि मन्थली नगरपालिका–. ५, का वडाअध्यक्ष राम बहादुर कार्की अधिकृत खड्काको आरोपका प्रतिवाद गर्नुभएको थियो ।

उहाँले नियोजित तरिकाले आफूहरुलाई सूचना नगरिएको आरोप लगाउनुभयो । ‘हामीले सूचना पाएर पनि नआएको हो भने हामीलाई कावाही गर्नुस, नत्र भए सार्वजनिक ठाउँमा बोलाएर गाली नगर्नुस, हामी आयोजक हैनौँ’, कार्कीले भन्नुभयो,‘हामीलाई प्रश्न सोध्ने ठाउँमा राख्ने, अनि हामीले प्रश्न सोध्ने कि उत्तर दिने ?’ आफूहरु जनप्रतिनिधि भएकाले कार्यालय सहयोगीकोजस्तो व्यवहार नगर्न खडकालाई वडा अध्यक्ष कार्कीले चेतावनी समेत दिनुभयो । कार्कीको आफूहरुमाथि लगाइएको आरोप फिर्ता लिन समेत कार्यक्रममा नै माग गर्नुभयो ।

त्यस्तै वडा नम्बर १ का वडा अध्यक्ष नारायणदास श्रेष्ठले प्रशासकीय अधिकृतको भनाईप्रति आपत्ति जनाउँदै आफूहरुलाई जनताले जिताएर पठाएकाले अधिकृतले आफूहरुलाई हेपेर अभिव्यक्ति दिएको भन्दै असन्तुष्ट व्यक्त गर्नुभयो । पदिय दायित्व भुलेर अधिकृतले कसैलाई पनि नाम तोकेर बोलाउन नमिल्ने भन्दै सम्मान गरेर बोल्न श्रेष्ठले खड्कालाई चेतावनी दिनुभयो । मन्थली नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा वडा नं. १, ५, १०, १२, १३ र १४ का वडा अध्यक्षहरुको मात्रै सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा ८ वटा वडाका अध्यक्षहरु सहभागी भएका थिएनन् ।


कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले सूचनामा केही कमजोरी भए पनि आउँदा कार्यक्रमहरुमा कार्यक्रम पूर्व नै सबै तयारी गरेर मात्र कार्यक्रम गरिने बताउदै सेवाग्राहीले राखेको प्रश्नको जवाफ दिनुभएको थियो । बस्नेतले नगरपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिकको अबधिमा २३ करोड ९८ लाख ५३ हजार ५ सय ८३ रुपैयाको आम्दानी र खर्चको बिबरण सार्वजनिक गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्