पुनर्निर्माणमा अझै डेढ खर्ब बजेट अभावः अर्थमन्त्री खतिवडा



रामचन्द्र वि.क.
३० कार्तिक, रामेछाप । अर्थ मन्त्री डा युवराज खतिवडाले पुनर्निर्माणमा अझै बजेट अभाव भएको बताउनुभएको छ । उहाँले पुनर्निर्माणको काम सम्पन्न गर्न तीन खर्ब लाग्ने र त्यसको लागि झण्डै डेढ खर्ब बजेट अभाव रहेको बताउनुभएको हो ।


अर्थ मन्त्री खतिवडाले २०७२ को भूकम्पबाट क्षेति भएका घरहरुको पुनर्निर्माणको काम एक तिहाइ सम्पन्न भएको र बाँकी काम अघि बढाउनको लागि विश्व बैंक सँग सहयोगको कुरा भइरहेको बताउनुभयो । उहाँले विश्व बैंकले पुनर्निर्माणको लागि सहयोग नगर्ने हो भने सामाजिक क्षेत्रमा दिएको बजेटबाट काम गर्नु पर्ने हुँदा नेपालको सामजिक विकासमा थप असर पुग्ने बताउनुभएको थियो ।


शुक्रवार मन्थली नगरपालिका–८ गाईखुरामा निर्माण हुन लागेको एकीकृत वस्तीको अवलोकन गर्दै अर्थ मन्त्री खतिवडाले वस्ती निर्माणमा भइरहेका प्रगतिको बारेमा चासो व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष हर्टवीङ सेचफरले विपत्ती आउँदाको महसुश सुनाउँदै नेपालको पुनर्निणमा काम गरी रहेको र अझै थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सेचफरले अहिले विश्व बैँकले नेपालमा १ सय ५१ हजार भन्दा बढी घरहरुलाई सहयोग गरिरहेको र अझै सयोग गर्ने बताउनुभयो ।


त्यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले बिहिबार मात्रै एकीकृत नमूना बस्ती बनाउने योजना सार्वजनिक गरेको र घर बनाउन बाँकी रहेका पीडितहरुले एकीकृत बस्ती बसाल्न सक्ने बताउनुभयो ।
अवलोकन कार्यक्रममा रामेछापका प्रतिनिधिसभा सासद श्यामकुमार श्रेष्ठ, प्रदेश रामेछापका सांसदद्धय शान्ति पौडेल, रिता माझी, रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, स्थानीय तहका जनप्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्