तीन गाउँपालिकाको संगमस्थल अग्लेश्वरीमा भव्य मेला लाग्दै



नारायण श्रेष्ठ

३० कार्तिक, रामेछाप । रामेछापको दोरम्बा, खाँडादेवी र सुनापती गाउँपालिको संगमस्थल अग्लेश्वरीमा मंसिर ३ गते ठूलो एकादशीको मेलालाई व्यवस्थित बनाउन दोरम्बा गाउँपालिका–२ दोरम्बा वडाले तयारी थालेको छ । वडाले मेलाको व्यवस्थापनको लागि २४ जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ । हरेक बर्ष ठूलो एकादशीको दिन अग्लेश्वरीमा भव्य रुपमा मेला लाग्ने गरेको छ । मेला भर्नको लागि आन्तरिक एवं बाह्य श्रद्धालुहरुको भीड लाग्ने गरेको छ ।


दोरम्बा गाउँपालिकाका–२ दोरम्बाका वडा अध्यक्ष खड्क श्रेष्ठले मेलालाई व्यवस्थित बनाउको लागि सरसफाईको काम अगाडि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो,‘धार्मिक पर्यटकीस्थल अग्लेश्वरीको मेला व्यवस्थापन गर्न कार्यमा लागेका छौं ।’ उहाँले प्रहरीसँग समन्वय गरेर शान्ति सुरक्षाको अवस्थालाई पनि ध्यान दिइएको बताउनुभयो ।

वडा कार्यालयको समन्वयमा नेपाली सेना, प्रहरी र स्थानीयको सहभागीतामा अग्लेश्वरी मन्दिरको सरसफाइ गरिने उहाँले जानकारी दिनुभयो । मेलाको लागि सुनापती गाउँपालिका–२ दिमीपोखरीले पनि समन्वय गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्