सरकारले लियो कडा निर्णयः नक्कली भूकम्पपीडितलाई रकम फिर्ता गर्न निर्देशन



काठमाडौँ, २ मङ्सिर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झूटो विवरण बुझाएर भूकम्पपीडित अनुदान लिनेलाई आगामी पुस १५ गतेभित्र सम्बधित कार्यालयमा रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

झुटो विवरण पेश गरेर भूकम्पपीडित अनुदान लिएको भनी उजुरी परेपछि त्यस्ता व्यक्तिबाट रकम असुलउपर गर्ने प्रक्रिया अघि बढाइएकाले फिर्ता गर्न निर्देशन दिएको हो ।
प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले प्रधानमन्त्री अध्यक्ष रहने प्राधिकरण निर्देशक समितिको गत भदौ २१ गते बसेकोे बैठकले झूटो विवरण पेश गरेर अनुदान लिएकाबाट रकम फिर्ता गराउने निर्णय गरेको जानकारी दिनुभयो ।

प्राधिकरणका अनुसार भूकम्पले क्षतिग्रस्त घरबाहेक सोही स्थान वा नेपालभर अन्य कुनै स्थानमा बस्नयोग्य घर भएका र एकभन्दा बढी स्थानबाट अनुदान रकम लिएकाहरुले रकम फिर्ता गर्नुपर्नेछ ।

अन्यथा अनुदान लिएको रकम सरकारी बाँकीसरह असुलउपर गर्ने चेतावनी प्राधिकरणले दिएको छ । झूटो विवरण पेश गरेर लिइएका अनुदान जिल्लास्थित आयोजना कार्यान्वयन ईकाइमा बुझाउन सकिने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्