रामेछापका शिक्षासेवी एवं कम्युनिष्ट पार्टीका नेता योञ्जनको निधन



३ मंसिर, रामेछाप ।
रामेछाप सुनापती गाउँपालिका–२ दिपीपोखरीका शिक्षासेवी एवं नेपाल कम्युनिष्ट पार्टीका नेता विष्णु कुमार योञ्जनको असामहिक निधन भएको छ । आइतवार साझ स्वास्थ्यमा अचालक समस्या आएपछि थप उपचारको लागि काठमाडौं लैजाने क्रममा ६६ बर्षिय योञ्जनको निधन भएको हो । सुनापती गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख प्रवल योञ्जनले हृयदघातको कारण बेलुका दस बजे उहाँको निधन भएको बताउनुभयो ।

‘थप उपचारको लागि टाटासुमो काठमाडौं लैजान पानी ट्याङकीमा पुर्याएपछि उहाँलाई असहज भएपछि घरमै फर्कायौ, राती टाइटभिजन हेलिकप्टर पाउन सम्भव भएन’, प्रमुख योञ्जनले रामेछाप न्युजसँग भन्नुभयो,‘सोमवार हेलिकप्टर मार्फत उपचार गर्न काठमाडौं लैजाने हामीले तयारी गरेका थियौ, तर हामीलाई सदाको लागि छोडेर जानु भो, चाहेर पनि हामीले समयमा अस्पताल पुर्याउन सकेनौ ।

’सुनापती गाउँपालिका–२ दिमीपोखरीका वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता कमल केसीले योञ्जनको निधनले गाउँपालिकालाई अपुरणिय क्षति पुर्याएको बताउनुभयो ।


को हुन शिक्षासेवी योञ्जन ?
सुनापती गाउँपालिका– २ दिपीपोखरीमा २००९ सालमा जन्मिनु भएका विष्णु कुमार योञ्जनले लामो समय शिक्षण पेसामा आबद्ध हुनुभयो । जीवनको लामो समय अर्थात ३७ बर्ष उहाँले दिमीपोखरीको मावि मन्दर मेल चौरीमा अध्यापन गराउनुभयो । समाजमा शिक्षाको ज्योति छर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका योञ्जनले लामो समय विद्यालयको प्रअको रुपमा जिम्मेवारी समेत सम्हाल्नुभयो । शिक्षा पेसा मार्फत समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका योञ्जनको निधनले अपुरणिय क्षति पुगेको सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले बताउनुभयो । दुई बर्ष अघि उहाँले प्रअबाट राजिनामा दिनुभएको थियो । तत्कालिन शिक्षा मन्त्री धनीराम पौडेलले प्रअ योञ्जनलाई सम्मान गर्दै विदाई गर्नुभएको थियो । नेकपाका नेता टंकलाल घिसिङ ‘टकल’ले नेपाल कम्युनिष्ट पार्टीका नेता एवं शिक्षासेवी योञ्जनको निधनले रामेछापलाई निकै ठूलो क्षति पुगेको बताउनुभयो ।

रामेछापका कम्युनिष्ट आन्दोलनका अगुवा नेता
नेपाल कम्युनिष्ट पार्टीका स्थापना भएदेखि नै समाजमा रहेको अन्याय र अत्याराको विरुद्ध लाग्नु भएका योञ्जनले २०२२ सालबाटै राजनीति सुरु गर्नुभएको थियो । पञ्चायत विरोधी आन्दोलनमा शसक्त रुपमा भूमिका निर्वाह गर्नुभएका योञ्जनले शिक्षण पेसासँगै राजनीतिक क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दा देशको रानजीतिक पविर्तनमा भूमिका निर्वाह गर्नुभएको थियो । योञ्जन नेपाल कम्युनिष्ट पार्टी रामेछापका संस्थापक नेता मध्येका एक मानिनुहुन्छ । नेकपा रामेछापका नेता ज्ञानकुमार योञ्जनले पार्टीले एक असल अभिभावक गुमाएको प्रतिक्रिया दिनुभयो । योञ्जनको निधनप्रति नेकपाका केन्द्रीय सदस्य कमल चौलागाईले उहाँको निधनले रामेछापलाई ठूलो क्षति भएको प्रतिक्रिया दिनुभयो ।

योञ्जनको सामाजिक विद्रोह
समाजमा छोरी मात्र होइन छोरा चाहिने मान्यतालाई चुनौती दिदै योञ्जनले छोरी नै छोरा हो भन्ने मान्यता स्थापित गर्नुभएको थियो । समाजको रुपान्तरण गर्न आफूले नै उदाहरण बन्नुपर्ने मान्यता राख्नुहुने योञ्जनले छोरी पनि छोरा भन्दा कम हुँदैनन भन्ने मान्यता अडिक हुनुभयो । उहाँको एक मात्र छोरी मिरा योञ्जन हुनुहुन्छ । मृतक योञ्जनको श्रीमती विष्णु योञ्जन, एक छोरी मिरा योञ्जन रहनुभएको छ । योञ्जनका बौद्ध धर्म संस्कार अनुसार भोली दिमीपोखरको च्यानडाँडामा अन्त्यष्टि गरिने परिवारले बताएको छ ।

सांसद श्रेष्ठद्धारा दुःख व्यक्त
रामेछापका प्रतिनिधिसभाका सांसद श्यामकुमार श्रेष्ठले कम्युनिष्ट पार्टीका नेता विष्णुकुमार योञ्जनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो,‘पार्टीले असल अभिभावक गुमाएको छ, यस दुःखको घडीमा परिवारजनप्रति गहिरो संमवेदना व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्