१० बर्षदेखि अलपत्र रामेछाप–सिन्धुली जोडने खैरेनीघाट पुल निर्माण सुरु, तर काम सुस्त (भिडियाे सहित)



स्नेहा सिलवाल

६ मंसिर, रामेछाप । १० बर्षदेखि अलपत्र परेको रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाटको पक्की पुल निर्माणको काम सुरु भएको छ । तीन बर्षमा सम्पन्न हुनुपर्ने पुल दस बर्ष वितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन् ।
हरेक बर्ष पुल निर्माण हुने आशामा बसेका रामेछापवासीले दस बर्षसम्म अलपत्र पुलको स्वरुप हेर्दै आएका छन् । दस बर्षको अवधिमा निर्माण गर्ने जिम्मेवारी पाएको ठेकेदार कम्पनीले पटक–पटक पुल निर्माण गर्ने लिखित सम्झौता गरेपनि कार्यान्वयन हुन सकेको छैन् । ठेकेदार कम्पनी बहानाबाजी बनाएर हरेक बर्ष पन्छिदै आएको छ ।

निर्माण कार्यमा ढिलासुस्ती गरेको भन्दै स्थानीयले आन्दोलन नै गर्ने अवस्था सृजना भएपछि डिभिजन सडक कार्यालय खुर्कोटले पुल निर्माण जिम्मेवारी पाएको खम्पाचे÷लामा÷कन्काई जेभीलाई कालोसूचिमा राख्ने सूचना प्रकाशित गरेको थियो । सूचना प्रकाशित भएपछि निर्माणको जिम्मेवारी पाएको कम्पनीले काम अगाडि बढाएको थियो । तर बर्षौै वितिसक्दा समेत पुल निर्माण सम्पन्न हुन सकेको छैन् ।
स्थानीय तहमा सरकार गठन भएपछि रामेछापको खाँडादेवी गाउँपालिका, सुनापती गाउँपालिकाका जनप्रतिनिधिहरुले ठेकेदार कम्पनीलाई पटक–पटक भेटर समयभित्र नै पुल निर्माण गर्न दबाब दिएका छन् । तर निर्माणको मुख्य जिम्मेवारी लिएको लामा÷खम्पाचे÷ कन्काई जेभी मध्येका कन्काई निर्माण सेवाका सञ्चालक राम मैलानीले अलिहे पनि काम सुरु गरेपनि आवश्यक जनशक्ति परिचालन भने गरेका छैनन् ।

दस बर्षको अवधिमा सुनकोसीतर्फ तीन वटा पिलर निर्माण भएर ढलान भएको छ भने रामेछातर्फ पिलर मात्र निर्माण गर्ने काम भएको छ । करिब ८ करोड रुपैयाँमा निर्माणाधिन पुल निर्माणको क्रममा डिजाई परिवर्तन हुँदा निर्माणमा ढिलाई भएको गुनासो ठेकेदार कम्पनीले गरेको छ ।
करिब ८३ मिटर लम्बाईको पुल सुनकोसी नदीमै छोटो पुलको रुपमा रहेको छ । रामेछाप जिल्लाको पश्चिम क्षेत्रका प्रमुख नाकाको रुपमा रहेको निमार्णाधिन पक्की पुल समयमा नै निर्माण नहुँदा सास्ती झेल्दै आएको स्थानीय राज मैनालीले बताउनुहुन्छ ।
राजधानी काठमाडौंबाट करिब ९० किलो मिटर दुरीमा रहेको सिन्धुली, काभ्रे र रामेछापको संगमस्थल कुशेश्वर दुम्जास्थित खैरनीघाटमा निर्माणाधिन पुल समयमा निर्माण नहुँदा रामेछापवासीले ठूलो सास्ती खेप्दै आएका छन् ।
खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठले समयमा नै पुल निर्माण नहुँदा रामेछापवासीले ठूलो हैरानी र सास्ती खेप्दै आएको बताउदै पुल निर्माणको काम सुरु भएको बताउनुभयो ।

अहिले सञ्चालन भइरहेको विपी राजमार्गसंगै निर्माणाधिन पुल सम्पन्न भएपछि रामेछापका वासिन्दाले तराई र राजधानी काठमाडौं आवतजावत गर्न सहजो हुनेछ । पुल निर्माण भएपछि रामेछापका स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य उत्पादन विक्रिवितरण गर्न हुनुकै साथै पर्यटकीय सम्भावना बोकेर बसेका सुनापती गाल्वा र दोरम्बा लगायतका स्थानको विकासमा टेवा पुग्नेछ ।
खैरेनीघाटको पक्की पुल यस बर्षभित्र नै पूरा हुने पुल निर्माणको ठेक्का पाएको कन्काई÷लामा÷खम्पाचे जेभीले अन्तर्गतका कन्काई निर्माण सेवाका सञ्चालक राम मैनालीले दावी गर्नुभयो ।
हाल इन्काई निर्माण सेवाले पुल निर्माणको काम गरिरहेको छ । पिलर निर्माणको काम सम्पन्न भएर ६६ मिटर ट्रष्ट जडान गर्नको लागि पुल निर्माणस्थलमा निर्माण सामाग्री पुगिसकेको दावी ठेकेदार कम्पनीले गरेको छ ।
‘६ सय टन स्ट्रिलको सबै सामान पुल निर्माणस्थलमा पुगेको छ । अब समयमा नै पुल निर्माण हुन्छ । गफ दिएको होइन । यस बर्ष पुल निर्माण हुन्छ’मैनालीले रामेछाप न्युजसँग भन्नुभयो,‘यस बर्ष पुल बनाएर गाडी गुडाएर देखाउछु ।’

 

प्रतिक्रिया दिनुहोस्