महिला हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउनु पर्छः राष्ट्रपति भण्डारी



९ मंसिर, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै खालका हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउनु तथा आर्थिकरुपले आत्मनिर्भर र स्वावलम्बी बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ । उहाँले बोक्सीको आरोप, छाउपडी, दाइँजो जस्ता कुप्रथालाई कानूनले निषेध गरिसकेको अवस्थामा समेत समाजमा अहिले पनि रहिरहेका अन्धविश्वास, कूरीति, कुसंस्कारले गर्दा नेपाली पछाडि परेको बताउदै चेतना र शिक्षा नै आवश्यक भएको बताउनुभएको हो ।

महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका उपलक्ष्यमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले समाजमा रहेको अन्धविश्वास, कूरीति, कुसंस्कारले गर्दा नेपाली महिला हिंसा, विभेद र अपमानका पीडा खप्न अझै बाध्य रहेको बताउनुभयो ।

राष्ट्रिपति भण्डारीले महिलाविरुद्ध हुने हिंसाविरूद्धको अन्तर्राष्ट्रिय दिवसले समाज, देश र अन्तर्राष्ट्रियस्तरमा महिला हिंसालाई निषेध र निरुत्साहित गर्ने कार्यमा लागेका सबैलाई सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।

‘लैङ्गिक हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार’भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको उपलक्ष्यमा उहाँले सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइको सुख, समृद्धि र सुस्वास्थ्यको कामना पनि गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले प्रत्येक वर्षको नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णयबमोजिम नेपालमा पनि यो दिवस मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्