रामेछापका उद्याेगीकाे गुनासाेः उत्पादन भएको वस्तु बिक्री गर्न नै सास्ती



रामचन्द्र वि.क.
९ मंसिर, रामेछाप । सरकारले उद्योग धन्दा सञ्चालनलाई जोड दिने नीति लिए पनि रामेछापका उद्याेगीहरुले भने उद्योगबाट उत्पादन भएको वस्ती विक्री गर्न कठिनाई भएको गुनासो गरेका छन् । रामेछापका उद्य्यामीहरुले आफ्नो उद्योगबाट उत्पादन भएका सबै बस्तु विक्री नभएको गुनासो गरेका हुन् ।

तेस्रो उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग विकास समिति रामेछापले आयोजना गरेको सरोकारवालाहरु बीचको अन्तरक्रियामा उद्योगीहरुले जिल्लामा उत्पादन गरेका बस्तुले सहज रुपमा बजार नपाउँदा बस्तु उत्पादन गर्ने जोस जाँगर समेत हराउँदै गएका चिन्ता व्यक्त गरेका छन् ।


रामेछापमा जिल्लामा ढाकाको सामाग्री उत्पादन गर्दै आउनुभएका शेर बहादुर थापा मगरले आफ्नो उद्योगबाट उत्पादन हुने बस्तुहरु गुणस्तरीय भएपनि जिल्लाबासीले बाहिरबाट आयतित् हुने बस्तु नै खरिद गर्ने गरेको गुनासो गर्नुभयो । उहाँले सरकारले स्थानीयस्तरमा उत्पादन हुने वस्तुलाई प्रोत्साहन गर्न नसक्दा राम्रो वस्तु भएर पनि बजारकै चिन्तामा भौतारिनु पर्ने गरेको बताउनुभयो ।
दुुग्ध उद्यमी भानु श्रेष्ठले जिल्लामा उद्योगहरु सञ्चालका पर्याप्त संभावनाहरु हुँदाहुँदै पनि चेतनाको कमी भएको कारण त्यतातिर ध्यान नगएको बताउद हरेक युवाहरुलाई उद्यमी बनाउनको सम्बन्धित निकायले तालिम दिनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी उद्यमीहरुले उद्योग सञ्चालनको लागि आफूहरुसँग पयाप्त पूँजी नभएको, वित्तिय संस्थाहरुले सहयोग नगरेको, सम्बन्धित निकायले उद्योगीको समस्या भन्दा नीति नियमलाई बढी ध्यान दिएको, उद्योग खोल्न सक्ने संभावनाहरुलाई अध्ययन नगरेको लगायतको गुनासो पोखेका थिए ।
रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जिल्लामा उद्योगीहरुले भोगेका समस्याहरुलाई स्थानीय तहसँग मिलेर समाधान गरिने बताउनुभयो । उहाँले भन्नुभयो,‘उद्यामीले राखेका नीतिगत समस्यामा छलफल गरेर समाधान गर्न सकिन्छ ।’


घरेलु तथा साना उद्योग विकास समिति रामेछापका बरिष्ठ उद्योग अधिकृत राजेन्द्र कुमार श्रेष्ठले विगतमा नेपालले उत्पादन गरेका बस्तु अर्को देशमा निर्यात हुने गरेको बताउदै अहिले देश नै अरुको आश्रयमा परेकोले उद्योग स्थापना गरी आत्मानिर्भर बन्नु पर्नेमा जोड दिनुभयो । श्रेष्ठले जिल्लाका साना उद्य्यामीलाई कार्यालयले सक्दो सहयोग गर्ने समते प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष श्याम थापाले उद्योग सञ्चालन लागि बाणिज्य संघले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले उद्योग सञ्चालनको लागि सहज तरिकाले पूँजीको व्यवस्था मिलाइदिन बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्