नेकपाले टुंगो लगायो प्रदेश कमिटीः रामेछापबाट को–को ?



१२ मंसिर, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीले प्रदेश कमिटीलाई पूर्णता दिएको छ । पार्टी एकता भएको सात महिनापछि प्रदेश कमिटीलाई पूर्णता दिएको हो । यस अघि प्रदेशको इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिवको टुंगो लागे पनि कमिटीमा रहने सदस्यहरुको टुंगो लाग्न सकेको थिएन । बुधवार बसेको नेकपाको सचिवालय बैठकमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा सहभागी दुई सदस्यी कार्यदलको प्रतिवेदन अनुसार प्रदेश कमिटीलाई पूर्णता दिएको हो ।


प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालयका बैठकले सात वटै प्रदेशको कमिटीलाई पूर्णता दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले अनुसार आगामी सचिवालयको बैठकले केन्द्रीय सदस्यको कार्यविभाज, जनवर्गीय संगठनको जिल्ला कमिटीको नेतृत्वको चयन गर्नेछ ।

रामेछापबाट को–को ?
प्रदेश नम्बर ३मा नेकपाको २१७ प्रदेश कमिटी बन्ने बताइएको छ । प्रदेश कमिटीमा नेकपा रामेछापबाट एक दर्जन भन्दा बढी नेताहरुको काम कार्यदलमा सिफारिस भएको छ । नेकपाका एक नेताका अनुसार सबै नाम प्रदेश कार्यदलले अनुमोदन गरेको खण्डमा एक दर्जन नेताहरु प्रदेश कमिटीको सदस्य बन्ने छन् ।

कार्यदलका एक नेताका अनुसार रामेछापबाट पूर्व एमालेबाट शान्ति पौडेल, तुला प्रसाद कडेल, ज्ञानकुमार श्रेष्ठ, माया कार्की, भोजराज कडेरिया, रत्न गाैतम, पूर्व माओवादी केन्द्रबाट धावा लामा, मैनकुमार मोक्तान, डिल्लीमान तामाङ, तारानारायण श्रेष्ठ, टंकलाल घिसिङ ‘टलक’, प्रेमकुमार कार्की, सुनिता गौतम लगायतको नाम सिफारिस भएको थियो । ती नेता रामेछाप न्युजसँग भने,‘पूर्व जिल्ला कमिटीका पदाधिकारीहरुले सिफारिस गरेको नाम धेरै परिमार्जन भएको छैन, केही हेरफेर गरेर अनुमोदन भएका छौ ।’ नेकपाका प्रवक्ता श्रेष्ठले विहिवार प्रदेश कमिटीमा सहभागी नेताहरुको नाम सार्वजनिक गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्