रामेछापलाई झिलिमिली बनाउन २७ करोड



स्नेहा सिलवाल

१४ मंसिर, काठमाडाैं । रामेछाप जिल्लामा विद्युतीकरण कार्यक्रम अन्तर्गत अधुरा रहेका ग्रामिण योजनाहरुलाई पूरा गर्न सरकारले करिब २७ करोड रुपैयाँ विनियोजन गरेको छ । नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको कार्यक्रम उर्जा मन्त्रालयबाट स्वीकृत भएसँगै कार्यान्वयनमा आउन लागेको हो । नेपाल विद्युत प्राधिकरणले एक साताभित्र ठेक्का लगाउने तयारी गरेको छ ।

ग्रामिण विद्युतीकरणको काम अगाडि बढन लागेको नेपाल विद्युत प्राधिकरण कार्यालय रामेछापका प्रमुख विनोद अधिकारीले रामेछाप न्युजलाई बताउनुभयो । कार्यक्रम अन्तर्गत रामेछापको ८ वटै स्थानीय तहमा यस अघि लाइन विस्तारको क्रममा अधुरो रहेका योजनाहरुलाई प्राथमिकता दिइएको छ ।


नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापलाई उज्यालो बनाउने कार्यमा आफ्नो ध्यान गएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘रामेछापको सबै क्षेत्रमा विद्युतीकरण गर्नको एडिबीले पनि काम गरिरहेको छ, प्राधिकरणले अधुरो रहेको योजनालाई पूरा गर्न बजेट विनियोजन गरेर काम गरिरहेको छ ।’
रामेछाप नगरपालिका अन्तर्गत दाईजोर, बसन्तपु्र, रामपुर, हिमगंगा, चिलाउनेखर्क, ओख्रेनीको साउने, देउराली, बोलुडबोलुङ, भोटेटार, सुकाजोर र वालिङखोलाको एचटि/एलटी लाइन निर्माण तथा ट्रान्सफरमर जडानको लागि २ करोड ३० लाख विनियोजन भएको छ ।
सुनापती गाउँपालिकाको अधिकाशं स्थानमा विद्युतीकरण भएपनि बाँकी रहेको हिलेदेवी, बेथानको जौखोरिया, पानीघाट, खनियापानी, दिमीपोखरीको लगायतको क्षेत्रमा अधुराे रहेको योजनालाई पूरा गर्न प्राधिकरणले २ करोड बजेट विनियोजन भएको छ ।
खाँडादेवी गाउँपालिकाको खाँडादेवी, चोप्राङ, माकादुम, गागल भदौरे, मझुवा, पिंखुरी, पकरवास र भिरपानी वडामा लाइन निर्माण र ट्रान्सफरमर जडानको लागि ३ करोड छुटयाएको छ ।
त्यसैगरी गोकुलगंगा गाउँपालिकाको ठोसे, दोर्जे, चुचुर क्षेत्रमा लाइन विस्तार र ट्रान्सफरमर जडानको लागि १ करोड, उमाकुण्ड गाउँपालिकाको गुम्देल, वाम्ती, कुभुकास्थली, गेप्तेश्वर, प्रिति र भुजीमा लाइन विस्तार ट्रान्सफरमर जडान गर्न २ करोड विनियोजन गरिएको छ ।
लिखु तामाकोसी गाउँपालिका अन्तर्गत दुरागाउँ, सैपु, बिजुलीकोट, नागदह, तिल्पुङको लागि ३ करोड दोरम्बा गाउँपालिकाको डडुवाको लागि २ करोड ४७ लाख रुपैयाँ विनियोजन भएको छ ।
मन्थली नगरपालिका अन्तर्गत सिम्पानी एरिया, भटौली बजार, पुराना गाउ्ँ, भलुवाजोर कठजोरको पात्ले, गेलु, चनखु, कौसेनी, सल्ने कल्लेरीको लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ २०७४÷०७५ को बजेटमा १७ करोड सात लाख रुपैयाँ र यस आर्थिक बर्षको लागि थप दस करोड रुपैयाँ अधुरो रहेको विद्युतीकिरणको लागि खर्च हुनेछ ।

प्राधिकरणले गत आर्थिक बर्षमा मात्र रामेछापको खाँडादेवी, मझुवा, भीरपानी, खनियापानी, दोरम्बा लगायतको क्षेत्रमा गरी ३० वटा ट्रान्सफरमर जडान गरेको प्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक बर्षमा मात्र रामेछापमा पाँच हजार ग्राहक थपिएका छन् । रामेछापमा अझै चालिस प्रतिशत क्षेत्रमा विद्युतीकरणको काम हुन बाँकी छ । एडिबीको सहयोगमा रामेछापको सबै क्षेत्रमा विद्युतीकरण गर्नको लागि ठेक्का गएर काम भइरहेको छ ।

रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले जिल्लालाई उज्यालो बनाउने कार्यमा आफू लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘अब जिल्लाका कुनै पनि जनता उज्यालोबाट बञ्चित हुनु पदैन ।’ जिल्लाको विद्युतीकरणको लागि आफूले उर्जा मन्त्रालसँग समन्वय गरेर काम गरिरहेको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्