भुकम्पको कारण रामेछापमा मानसिक रोगीको संख्या बढ्यो



रामचन्द्र वि.क.
१६ मंसिर, रामेछाप । रामेछाप जिल्लामा पछिल्लो समय मानसिक रोगका विरामी बढेका छन् । २०७२ सालको विनाशकारी भूकम्पपछि रामेछापमा मानसिक रोगका विरामीको संख्या बढेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १ हजार १ सय ९८ जना मानसिक रोगका बिरामी भेटिएका हुन । यो संख्या जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा रहेको तथ्यङ्क सहितको हो ।
जिल्ला स्वास्थ्य कार्यालय जिल्लाको अनुसार २०७२ सालको विनासकारी भूकम्पपछि मानसिक रोगका विरामीको संख्यामा बृद्धि भएको हो ।


बिरामीहरु अहिले पनि उपचारकै क्रममा रहेको र ती मध्ये ५३ प्रतिशत महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका निमत्ति प्रमुख डा. पुष्पराज अधिकारीले रामेछाप न्युजलाई बताउनुभयो ।
डा. अधिकारीका अनुसार रामेछापमा डिप्रेसन, माइग्रेन, साइकोसिस र छारे रोग लगायका मानसिक रोगका बिरामीहरु उपचारको लागि आउने गरेका छन् । रामेछापमा मानसिक रोगका विरामी बढ्नुमा तनाव, लागू पदार्थ दुब्र्यसनी, आर्थिकस्थिति कमजोर, अशिक्षा र बैदेशिक रोजगारी मुख्य कारण देखिएको डा. अधिकारीले बताउनुभयो ।

आफूलाई मानसिक रोग लागेको कुरा थाहा नपाउँने विरामी धेरै भएकाले यो संख्या अझ धेरै हुन सक्ने अस्पतालले बताएको छ । नियमित टाउको दुख्ने, निद्रा नलाग्ने, डर लाग्ने, मन उदास भैरहने, जाँगर हराएर जाने, मुटु ढुकढुक हुने, शास फेर्न गाह्रो हुने, बेहोस हुनेजस्ता लक्षण मानसिक रोगको संकेत भएकाले त्यस्तो अवस्थामा तत्काल स्वास्थ्य संस्थामा गएर जाँच गरानु पनि डा. अधिकारीले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्