नमूना बन्यो रामेछापको पहिलो विद्यालय



राजन महतारा क्षेत्री
१६ मंसिर, रामेछाप । भुकम्पको कारण भत्किएको रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय गौरीशंंकर माध्यमिक विद्यालयको पुननिर्माण भएको छ । भुकम्प गएको तीन बर्षपछि गौरीशकंर माविको पुननिर्माण सम्पन्न भएको हो ।
वि सं.२०२० सालमा स्थापना भएको विद्यालय भुकम्पको कारण ध्वस्त भएको थियो । एशियाली विकास बैँकको आर्थिक सहयोगमा पक्की सुविधा सम्पन्न आधुनिक भवन निर्माण भएको छ । रामेछाप नगरपालिका–८ मा निर्मित ५ वटा भवनमा ३० वटा कोठा रहेका छन् भने २ वटा शौचालयहरु छन ।

खानेपानीको धारा र ट्याङकी सहित ११ करोड २८ लाखमा निर्मित विद्यालय भवन अपाङ्गमैत्री र बालमैत्री रहेको विद्यालयका शिक्षक डिल्लीश्वर बस्नेतले बताउनुभयो । एसियाली विकास बैँकको भुकम्पिय अपातकालीन सहायता आयोजना कार्यक्रम अन्तर्गत नवनिर्मित विद्यालय भवनको सम्भौता ७ अप्रिल २०१७ मा र निर्माण सम्पन्न गर्नुपर्ने समय ६ जुलाई २०१८ सम्म थियो ।
भुकम्पले तहसनहस भएको विद्यालय भवनहरुको ठाउँमा नयाँ पक्की भवन बनेपछि विद्यार्थी, अभिभावक र शिक्षकहरु खुसी भएका छन । भुकम्प गएको तीन वर्षसम्म अस्थायी टहरामा पठनपाठन गर्दै आएका विद्याथीहरु सुविधा सम्पन्न नयाँ भवनमा पढ्न पाउँदा खुसी भएका छन् ।


‘जाडोमा अत्याधिक जाडो र गर्मीमा अत्याधिक गर्मी खेपेर अस्थायी टहरामा पढ्नुपर्ने बाँध्यता थियो’, कक्षा १० मा अध्यनरत रोजिना मगरले भन्नुभयो,‘विद्यालय भवन बनेपछि हामी निकै खुसी भएका छौं ।’

विद्यालयका प्रद्यानाध्यापक निर बहादुर कार्कीले नयाँ सुविधा सम्पन्न भवन बनेकोमा खुसी व्यक्त गर्दै अबका दिनमा विद्यार्थीहरुको पठनपाठनमा पनि सुधार गर्दै लैजाने बताउनुभयो । उहाँले विद्यालयमा होस्टेल, प्रविधिक शिक्षा लगायतको व्यवस्था गरी अगाडी बढ्ने योजना रहेको बताउनुभयो ।

एसियाली विकास बैँकले नयाँ बनेको भुकम्प प्रतिरोधी पक्की सुविधा सम्पन्न विद्यालयको भवन मंसिर १८ गते विद्यायलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । विद्यालय हस्तान्तरण कार्यक्रममा अमेरिकी राजदुत सहभागी हुने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्