प्रदेश ३ को स्थायी राजधानी मतदानबाटै ढुंगो लाग्ने,काभ्रेलाई राजधानी बनाउने तयारी



१७  मंसिर, हेटौडा ।
प्रदेश नम्बर ३ को स्थायी राजधानीबारे सहमति जुटन नसकेपछि प्रदेशसभामा मतदान नै हुने भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको आहृवानमा बसेको सर्वदलीय बैठकमा राजधानीबारे संसदीय प्रक्रियाबाटै निर्णय गर्ने सहमति जुटेको हो ।

लामो समय सहमति जुटाउने गृहकार्य असफल भएको छ । संसदीय समितिले मकवानपुरसहित, काभ्रे, भक्तपुर, नुवाकोट र चितवन विकल्प दिएको छ । पछिल्लो समयमा उपत्यकाका तीन जिल्लाका प्रदेश सभा सांसदले सबै जिल्लालाई पायक पर्ने काभ्रेलाई प्रदेशको स्थायी राजधानी बनाउनु पर्ने पक्षमा उभिएका छन् ।

दुई तिहाईको लागि उपत्यकाको काठमाडौंं, भक्तपुर र ललितपुरका प्रदेशसभा सांसदको मतदान नै निर्णायक हुनेछ । प्रदेशसभामा सत्तारुढ दल नेकपाको दुई तिहाई बहुमुत रहेपनि नेकपाभित्रै हेटौंडा कि काभ्रे भन्ने बहस चर्को छ । मुख्यमन्त्री डोरमणि पौडेलसहितका केही नेता हेटौंडालाई नै स्थायी राजधानी बनाउने पक्षमा भएपनि दुई तिहाई संख्या काभ्रे राख्नु पर्ने पक्षमा देखिएका छन् ।
आगामी पुस ८ गते बस्ने प्रदेशसभाको अबको बैेठकमा राजधानीबारे संसदीय समितिको प्रस्ताव पेश हुनेछ र एकएक जिल्लाको नाम प्रस्ताव गरेर मतदान हुनेछ । जुन जिल्लाको प्रस्ताव दुई तिहाईले पारित हुन्छ, त्यहीँ स्थायी राजधानी तोकिनेछ ।

प्रतिक्रिया दिनुहोस्