रामेछाप नेविसंघको अध्यक्षकाे लागि ६ भाई भिडदै



२१ मंसिर, रामेछाप ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रामेछापको जिल्ला अधिवेशन नजिएसँगै अध्यक्षका प्रत्यासीहरु आन्तरिक गृहकार्यमा जुटेका छन् । नेविसंघ रामेछापको भावी अध्यक्षको लागि छ जना आकांक्षी देखिएका हुन् । दुई जना वर्तमान उपाध्यक्ष, दुई जना सचिव र दुई जना क्षेत्रीय अध्यक्षले अध्यक्ष बन्ने चाहना सहित आन्तरिक गृहकार्यमा जुटेका छन् ।


नेविसंघका जिल्ला उपाध्यक्ष प्रभावकर ढुंगेल, अर्का उपाध्यक्ष सुशीलहरि बख्रेल, जिल्ला सचिव सुन्दर घिमिरे, अर्का सचिव विनोद बुढाथोकीले आकांक्षा देखाएका छन् । त्यसैगरी नेविसंघको क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष उक्तम कुमार कार्की र क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष धिरोज खत्रीले अध्यक्ष बन्ने चाहना राखेका छन् ।
जिल्ला अधिवेशनमा सर्वसम्मत नभए निर्वाचनबाट नयाँ नेतृत्व चयन हुनेछ । रामेछाप नेविसंघको जिल्ला अधिवेशन गर्न केन्द्रीय सह=महामन्त्री अचुतराज कलौनीलाई नेविसंघले जिम्मेवारी दिइसकेको छ ।

केन्द्रको पुस १४ गतेभित्र अनिवार्य रुपमा जिल्लाको अधिवेशन गरिसक्नु पर्ने निर्देशन सहित ७७ वटै जिल्लामा प्रतिनिधि खटाइसकेको छ । रामेछाप नेविसंघको अधिवेशनको लागि मिति नतोकिए पनि आन्तरिक गृहकार्य भने जिल्ला तहमा गृहकार्य भइरहेको
बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्