रामेछापको मन्थली र दोरम्बामा १५ शैयाको अस्पताल सञ्चालन हुँदै



२२ मंसिर, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका र दोरम्बा गाउँपालिकाभित्र १५ शैयाको अस्पताल सञ्चालनमा आउने भएको छ । प्रदेश नं. ३ को सामाजिक विकास मन्त्रालय अन्तर्गत यस आर्थिक बर्षको स्वीकृत कार्यक्रम पूर्वाधार भएका १३ जिल्लाका कम्तिमा १ स्थानीय तहमा १५ शैयाको अस्पताल सञ्चालन सुरु गर्न आवश्यक चिकित्सक करारमा लिने प्रक्रिया अगाडि बढेको हो । जस अन्तर्गत रामेछापको मन्थली नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य केन्द्र दोरम्बा परेको छ ।

प्रदेश सरकारले १८ स्वास्थ्य संस्थाको लागि मेडिकल अधिकृत (आठौ तह पद करारमा लिने सूचना प्रकाशित गरिएको छ । १५ दिनभित्र कर्मचारी भर्ना प्रक्रिया सकेर लगत्तै अस्पतालबाट सेवा प्रवाह गर्ने कार्यक्रम प्रदेश सरकारले बनाएको छ ।
प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पहिलो चरणमा भौतिक पूर्वाधार उपलब्ध भएको रामेछापको दुई स्वास्थ्य केन्द्रमा अस्पताल सञ्चालन गर्ने प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँले हरेक स्थानीय तहमा १५ शैयाको अस्पताल सञ्चालन गर्ने सरकारको नीति अनुसार नै काम अगाडि बढिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्