सुनापती आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण



२१ मंसिर, रामेछाप । सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले राम्रो काम गर्ने कर्मचारीलाई गाउँपालिकाले प्रोत्साहन गर्ने तर मदिराजन्य पदार्थ सेवन गरेर कार्यालय जाने कर्मचारीमाथि कारवाही हुने बताउनुभएको छ । उहाँले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताउदै अनुशासनहिन भएर जाड रक्सी खाएर हिडने कर्मचारीलाई कारवाही हुने चेतावनी दिनुभएको हो । अध्यक्ष लामा भन्नुभयो,‘एक घर एक स्नातक पास हुने गरी गाउँपालिकाले शिक्षा नीति अगाडि सार्ने छ ।’


सुनापती गाउँपालिका–४ बेथानस्थित सुनापती आधारभुत विद्यालय भ्वाँसाका विद्यार्थीहरुलाई छात्रवृत्ति तथा पोशाक वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले शिक्षालाई गुणस्तरीय बनाउनको लागि गाउँपालिकाले विशेष ध्यान दिएको बताउनुभयो ।

कार्यक्रममा सुनापती भ्वाँसा च्यारिटी मेडिकल सेन्टरका सञ्चालक विमानसिंह तामाङको समन्वयमा ह्यापी अल ट्रष्ट नामक कोरियन संस्थाले विद्यार्थी र शिक्षक शिक्षिकालाई प्रदान गरेको पोशाक वितरण गरिएको छ । सञ्चालक तामाङले आगामी दिनमा पनि सहयोगी संस्थाहरुसँग सहकार्य गरेर विद्यालयलाई थप समृद्ध बनाउने काममा लाग्ने बताउनुभयो ।


कार्यक्रममा सुनापती गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खड्ग घिसिङले विद्यालयको सुधारको लागि विद्यालय व्यवस्थापन समितिले खेलेको भूमिका प्रशंसनीय रहेको बताउदै विद्यालयलाई थप बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अधयक्ष कमानसिंह तामाङले शिक्षाले विद्यार्थीको संख्या खोज्नु भन्दा पनि शिक्षाको गुणस्तर खोज्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।

फरक प्रसंगमा उहाँले विद्यालय निर्माणको क्रममा पानी अभाव हुँदा पानीको व्यवस्थापन गर्नको लागि जन प्रगतिशिल मञ्च बेल्जियमका पूव अध्यक्ष जितबहादुर तामाङ मार्फत १ लाख ८० हजार सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँका अनुसार जित बहादुर तामाङले विद्यालयलाई आवश्यक पर्ने थप आर्थिक सहाहयता पनि उपलब्ध गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।


सुनापती गाउँपालिका शिक्षा समितिका सदस्य एवं फाइभ फिंगर प्रालिका अध्यक्ष बिबी तामाङले जोडोमा विद्यार्थीहरुलाई न्यानो टोपी वितरण गर्नुभएको थियो । सोही कार्यक्रममा न्यायिक संसारले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्