प्रधानमन्त्री ओली र मुख्यमन्त्रीबीच सिंहदरवारमा चर्काचर्की



१३ मंसिर, काठमाडौं ।
प्रदेश सरकार गठन भएको नौ महिना वितिसक्दा समेत कानुन र कर्मचारीको व्यवस्थापन नभएको भन्दै सात वटै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्टि जनाएका छन् । मुख्यमन्त्रीको आकोशलाई शान्त पादै प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तहको सहकार्यबाट नै देशलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

अन्तर प्रदेश परिषद्को पहिलो बैठकलाई आइतवार सिंहदरबारमा सम्बोधन गर्दै उहाँले नेपाल सङ्घीयता कार्यान्वयनको प्रारम्भिक चरणमा भएकाले आफ्ना अनुभवबाट सिक्दै यसलाई बलियो बनाउने पहल गर्न सबै समक्ष आग्रह गर्नुभयो । उहाँले सङ्घीयता नेपालका लागि नयाँ विषय भएकाले यसलाई संरचनागतरुपमा बलियो बनाउन आफैँ लाग्नुपर्छ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “मुख्यमन्त्रीको कार्यालय, प्रदेश मन्त्रीको कार्यालय, आवासजस्ता विषय केही समयअघिसम्म हाम्रो सोचमा थिएनन् । अहिले तिनलाई व्यावहारिकरुपमै प्रयोग गर्नुपर्दा केही असजिलो महसुस गरेका हौँला । खेलमा पस्नेबित्तिकै कोही खेलाडी पनि च्याम्पियन हुँदैन । अभ्यास गर्दै गएपछि च्याम्पियन हुन्छ । हाम्रा लागि सङ्घीयता त्यस्तै नयाँ खेल हो । यसमा हामी च्याम्पियन सावित हुनेछौँ ।”

सङ्घीयता कार्यान्वयनका लागि सरकारले गति बढाउनुपर्नेमा चर्चा गर्दै उहाँले भन्नुभयो, “हामी गलत बाटोमा गएका छैनौँ । सङ्घीयता कार्यान्वयनमा गति बढाउन बाँकी छ ।”
आजको बैठकमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्ना धारणा राख्नुभएको थियो ।

बाँकी तीन वटा प्रदेशका मुख्यमन्त्रीले सोमबारको बैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम छ । बैठकमा सङ्घीयता कार्यान्वयनका लागि विभिन्न मन्त्रालयबाट भइरहेका कामका विषयमा प्रधानमन्त्री कार्यालय, गृह, सङ्घीय मामिला तथा स्थानीय विकास, कानून न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयका सचिवले जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्