साझा एजेण्डा बनाएर रामेछापको विकास गर्ने आठ स्थानीय तहका प्रमुखको प्रतिबद्धता



रामचन्द्र वि.क.
२५ मंसिर, रामेछाप । रामेछाप जिल्लाका आठ वटै स्थानीय तहका प्रमुखहरुले जिल्लाको विकास निर्माणमा समन्वय र सहकार्य गर्दै साझा एजेण्डा तय गरेर अगाडि बढने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीय तहका प्रमुखहरुले विकास निर्माणमा साझा धारणा बनाएर अगाडि बढन आपूmहरु तयार रहेको बताएका हुन् ।

जिल्ला समन्वय समितिको दोस्रो सभाको दुई दिनसम्म चलेको छलफलमा दुई नगरपालिकाका नगर प्रमुख र छ गाउँपालिकाका अध्यक्षहरुले समृद्ध रामेछाप बनाउनको लागि एक जुट भएर लाग्ने निष्कर्ष निकालेका छन् ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले स्थानीय तहमा हुने विकास निर्माणको निरन्तर अनुगमनलाई थप प्रभावकारी बनाउने बताउनुभयो ।

उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘विकास निर्माणको काममा आठ वटै स्थानीय तहबीच हालेमालो र सहकार्य आवश्यक छ ।’ जिल्ला समन्वय समितिको खेल्दै आएको भूमिकालाई स्थानीय तहका जनप्रतिनिधिहरुसँग सहकार्य गरेर आगामी दिनमा झन सदृढ गरेर लैजाने बताउनुभयो ।
कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले नगरपालिकाले सहकार्य र समन्वय गरेर काम अगाडि बढाइरहेको बताउदै आगामी दिनमा पनि समन्वय गर्दै अगाडि बढने बताउनुभयो । ‘साझा मुद्दामा सहकार्य गरेर नै अगाडि बढनु पर्छ, आठ वटै स्थानीय तहलाई जोडने साझा मुद्दामा सहकार्य गरेर अगाडि बढन हामी तयार छौ’, उहाँले भन्नुभयो ।
रामेछाप नगरपालिकाका नगर प्रमुख नरबहादुर थापामगरले विकास निर्माणको कामलाई तिब्रता दिनको लागि समन्वय नै आवश्यक रहेकोमा जोड दिनुभयो । स्थानीय तहका प्रमुखहरुले समयमा कानुन र आवश्यक कर्मचारी नहुँदा अपेक्षा गरे अनुसारको परिणाम निकाल्न नसकिएको साझा निष्कर्ष निकालेका छन् ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले आवश्यक कानुन र कर्मचारीको अभावमा अपेक्षा अनुसार काम गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘काम गर्नको लागि नीति कार्यक्रम र बजेट बनाएर अगाडि बढेका छौ, कतिपय अवस्थामा कानुनको अभाव छ, आवश्यक कर्मचारी नहुँदा झन समस्या छ ।’
कार्यक्रममा खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ, सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा, लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का, गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवार र उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले पनि जिल्लाको साझा विकास निर्माणको काममा सहकार्य र समन्वय गरेर अगाडि बढने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्