रामेछापको गोकुलगंगा गाउँपालिकामा अस्पताल बन्ने



२७ मंसिर, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाको केन्द्र रस्नालुमा अस्पताल निर्माण हुने भएको छ । तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले निर्माण हुन लागेको अस्पताल भवनको शिलान्यास गर्नुभयो ।

अस्पतालको शिलान्यास गर्दै अर्थमन्त्री ढुंगेलले अस्पतालको व्यवस्थापन र सञ्चालनमा प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने सरकारको नीति नै छ, नागरिकहरुलाई गाउँघरमा नै सेवा उपलब्ध गराउन अस्पताल निर्माण र सञ्चालनमा विशेष ध्यान दिएका छौ ।’

गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले गाउँपालिकाका बासिन्दालाई आगामी दिनमा सामान्य उपचार गर्न पनि काठमाडौं जानु पर्ने बाँध्यता हटाउनको लागि अस्पताल निर्माण कार्य अगाडि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो,‘अस्पताल निर्माणमा सबैको साथ र सहयोगको अपेक्षा गरेका छौ, गाउँपालिकाले नागरिकहरुलाई सहज रुपमा सेवा सुविधा उपलब्ध गराउने काममा लागेको छ ।’
गाउँपालिकाको १ करोड ५० लाख र च्वाइस नेपालको १ करोड ५० लाख  गरी तीन कराेड लगानीमा पाँच शैयाको अस्पताल निर्माण हुन लागेको हो । गाउँपापिलका नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले १७ रोपनी जग्गामा ५ शैयाको अस्पताल निर्माण गर्न लागिएको गोकुलगंगा गाउँपालिकाका प्रवक्ता बलराम खड्काले रामेछाप न्युजलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘अस्पताल नहुँदा गाउँपालिकाका बासिन्दाले निकै ठूलो दुःख र सास्ती पाउदै आएका छौ, गाउँपालिकाले अस्पताल निर्माण गर्ने कार्यक्रम अन्तर्गत अस्पताल निर्माणको काम अगाडि बढाइएको हो ।’

प्रतिक्रिया दिनुहोस्