रामेछापको सल्लेमा पहिलो पटक गाडी आएपछि सडकमै नाचगान



१ पुस,रामेछाप ।

रामेछापको रामेछाप नगरपालिका–८ मा पहिलो पटक बस आएपछि स्थानीयले सडकमै नाचगान गरेर खुसी मनाएका छन् । नेपाली काग्रेसका नेता कान्छाराम तामाङले सडक बनाउनको लागि निशुल्क रुपमा ४ महिना देखि डोजर उपलब्ध गराएर गाउँमा फराकिलो सडक बने पछि आइतबार उक्त गाउँमा पहिलो गाडी पुगेको हो । गाडी पुगेको स्थानीयले स्थानीले सडकको ठाउँ–ठाउँमा फूलमाला सहित गाडीमा आउँने चालक र यात्रुलाई समेत रोकेर स्वागत गर्दै खुसीयाली मनाएका छन् ।


गत निर्वचानमा प्रतिनिधिसभाको उम्मेद्धार बनेर पराजित भएका तामाङले आफूले जिते पनि हारे पनि गाउँमा बाटो ल्याउने बाचा गरेको र त्यो बाचा पुरा गर्दै निरन्तर रुपमा ९ सय घण्टा डोजर उपब्ध गराएर व्यक्तिगत रुपमा ६० लाख बराबरको सडक निर्माण गर्नलाई सहयोग गरेको कारण गाउँमा गाडी आएको वडा नम्बर ८ का वडा अध्यक्ष केदार कार्कीले बताउनुभयो । मन्थली नगरपालिकाको वडा नं. १ को सोलमारी देखि वडा नं. ६ भलुवाजोर, रामेछापको वडा नं. ८ डुम्रीखर्का, सल्ले, माथिल्लो धाराभानी हुँदै रामेछाप बजार सम्म गरी १७ किलो मिटर दुरीमा रहेको सडकमा अहिले सहजै रुपमा ठुला सवारी साधन चल्न सक्ने अध्यक्ष कार्कीको भनाई रहेको छ ।


६ मिटर चौडाइ भएको उक्त बाटो निर्माण गर्नको लागि डोजरलाई तेल खर्च बापत १६ लाख ७५ हजार वडाले उपलब्ध गराएको कार्कीले बताउनुभयो ।
घरकै दैलोमा ठुलो सडक बने पछि गाडी चढ्नको लागि गाउँबाट ३÷४ घण्टा हिडेर सदरमुकाम मन्थली र रामेछाप बजार पुग्नु पर्ने बाध्यता हटेको स्थानीय कृष्ण थापाले बताउनुभयो । सडक बनेसँगै गाउँमा उत्पादन हुने तरकारी र दुध सहजै रुपमा सदरमुकाम लैजन सजिलो हुने अर्का स्थानीय बद्री नयाँघरेले बताउनुभयो । उहाँले सडक निर्माणको क्रममा मुख्य सडकसँगै स्थानीयबासीको घर–घरमा समेत सडक पुगेकाले उनिहरुलाई यात्रमा सहज भएको बताउनुभयो ।
सडकको उद्घाटन रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले रिबन काटेर गर्नु भएको थियो । उपप्रमुख खड्का सोही सडक भएर मन्थलीबाट रामेछाप बजार सम्म सुपर एक्सप्रेसमै पुग्नु भएको थियो । यस अघि केही ठाउँमा ट्रयाक मात्रै खोलिएको उक्त सडकमा कुनै सवारी साधन चल्दैन थिए । रामेछाप सल्ले, डुम्रिखर्क, सोलमारि हुँदै काठमाण्डौँसम्म बस सेवा सन्चालन भएको छ ।
कार्यक्रममा नेपाल कांग्रेस जिल्ला कार्यसमितिका सचिव लेखबहादुर कार्की लगायत विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्