खाँडादेवी गाउँपालिकाको कार्यालय भवनको मन्त्री ढंगेलद्धारा उदघाटन



२ पुस, रामेछाप ।
खाँडादेवी गाउँपालिकाको नवनिर्मित कार्यालय भवनको उदघाटन भएको छ । तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले नवनिर्मित भवनको उदघाटन गर्नुभएको हो । १ करोड १० लाखमा निर्माण भएको प्रिफ्याक्क भवन निर्माण भएसँगै गाउँपालिकाको आफ्नै भवन निर्माण भएको छ ।

कार्यालय भवनको अभावमा काम गर्न असहज भएपछि गाउँपालिकाले बजेट विनियोजन गरेर भवन निर्माणको काम अगाडि बढाएको थियो । गाउँपालिकाले सभा समारोह लगायतको काम गर्नको लागि एक सय जना अटाउने सभा हल पनि निर्माण गरेको छ ।


गाउँपालिकाको भवनको उदघाटन गर्दै तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले गाउँपालिकालाई समृद्ध बनाउने कार्यमा आफूले भूमिका निर्वाह गर्ने बताउनुभयो । खाँडादेवी गाउँपालिका निवास एवं रामेछाप प्रदेश नम्बर २ का सांसद समेत रहनुभएका मन्त्री ढुंगेलले स्थानीय तहबाटै समृद्धिको सपना पूरा हुने भएकाले योजनाबद्ध रुपमा योजना छनोट गरेर काम अगाडि बढाउन निर्देशन दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले गाउँपालिकालाई समृद्धि बनाउने योजना अगाडि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो,‘गाउँपालिकाले अगाडि सारेको नीति योजना र बजेटलाई प्रभावकारी कार्यान्वयन गर्न हामी लागेका छौ ।’ कृषि, पर्यटन मार्फत गाउँपालिकाको आर्थिक अवस्था सुधार गर्नको लागि कार्यक्रम अगाडि बढाइएको बताउदै अध्यक्ष तामाङले गाउँपालिकाबाट भएका सबै काम पारदर्शी भएको दावी गर्नुभयो ।

कार्यक्रममा रामेछापका प्रदेश नम्बर १ का सांसद शान्ति पौडेल, रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का, गोकुलगंगा गाउँपालिकका अध्यक्ष खड्ग बहादुर सुनुवार, नेकपाका नेता आन्नद श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्