चिसो बढेपछि रामेछापको जनजीवन प्रभावित



रामचन्द्र वि.क.
२ पुस, रामेछाप । हिमाली जिल्ला रामेछापका उच्च भूभागमा चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । केही दिन अघि देखि चिसो बढ्दै गएको र सोमबार बिहानै देखि जिल्लाको उच्च भागहरुमा घाम समेत नलागेकाले स्थानीयहरु प्रभावित भएका हुन् ।
चिसो बढे पछि दिनभर काम गर्न समेत गरो भएको उमाकुण्ड–१ गुम्देलका पेम्बा शेर्पाले बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,“विहानै देखि घाम लागेको छैन, घरबाट बाहिर निस्किन समेत समस्या भएको छ ।’ ठाउँठाउँमा दाउराको आगो बालेर बसेका छौं ।’ शेर्पाका अनुसार गुम्देलमा बिहानको तापक्रम मापन गर्ने हो भने शुन्य डिग्री भन्दा कम रहेको छ ।


त्यस्तै उमाकुण्ड–२ बाम्तीका कर्मा शेर्पाले गाउँमा चिसो बढेपछि दिनभर घर बाहिर बस्न समस्या भएको बताउनुभयो । उच्च डाडाँमा हल्का हिमपात समेत भएको उहाँले जानकारी दिनुभयो । चिसोका कारण जिल्लाक सबै स्थानीय तहका उच्च भूभागमा बसोबास गर्ने स्थानीयहरुको जनजिवन प्रभावित भएको छ ।
जिल्लाकै सबै भन्दा गर्मी हुने ठाउँ सदरमुकाम मन्थलीमा समेत बिहान देखि घाम नलाग्दा अत्याधिक चिसो बढे पछि जनजीवन कष्टकर बनेको छ । विशेषगरी चिसोबाट बृद्धाबृद्ध र बालबालिका प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्