रामेछाप–सिन्धुली जोडने खैरेनीघाट पुल निर्माणले दस बर्षपछि गति लियो



८ पुस, रामेछाप ।
दस बर्षदेखि अलपत्र परेको रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाटमा निर्माणाधिन पक्की पुल निर्माणले गति लिएको छ । स्थानीयको दबाब र स्थानीय जनप्रतिनिधिहरुको सक्रियतामा ठेकेदार कम्पनीले पुल निर्माणको कामलाई गति दिएको हो ।
निर्माण सुरु भएको दस बर्षको अवधिमा चार वटा पिलर निर्माणको काम भएको छ । यस बर्ष नै पुल निर्माणको काम सम्पन्न हुने दावी ठेकेदार कम्पनीले गरेको छ । लामा÷खम्चापे÷कन्काई जेभी अन्तर्गत कन्काई निर्माण सेवाले पुलको निर्माण गरिरहेको छ ।


निर्माण कम्पनीका प्रबन्धक राम मैनालीले रामेछाप न्युजसँग भने,‘यस बर्ष जेठसम्म पुल निर्माण गर्ने गरी काम अगाडि बढाएका छौ, पुल निर्माणको लागि ट्रष्टको सबै सामान निर्माणस्थलमा पुगेको छ, अहिले धमाधम काम भइरहेको छ ।’
पुल निर्माण कार्यमा जनशक्ति कम भयो भन्ने जिज्ञासामा मैनालीले भने अहिले जनशक्ति भन्दा पनि मेसिनको काम बढी भएकाले कम जनशक्ति प्रयोग गरिएको बताउनुभयो ।
खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठले पुल निर्माण यस आर्थिक बर्ष नै सम्पन्न गर्नको लागि ठेकेदार कम्पनीलाई दबाब दिएको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘निर्माणस्थलमा काम भइरहेको छ, हामीले कामको गति अझै बढाउन आग्रह गरेका छौ, यस बर्ष नै पुल निर्माण सम्पन्न होस भन्ने पक्षमा हामी लागेका छौं ।’
हाल ट्रष्ट जडान गर्नको लागि फाउण्डेसन निर्माणको काम धमधम भइरहेको छ । करिब ६४ मिटर ट्रष्ट रहने पुलको दुवैतर्फ पिलर निर्माण भइसकेको छ । समयमा नै पुल निर्माण नहुँदा रामेछापको खाँडादेवी, सुनापती र दोरम्बा गाउँपालिकाका बासिन्दालाई सास्ती हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्